भौतिक पूर्वाधार मन्त्रालय भन्छ- दशैंअघि बीपी राजमार्ग सञ्चालनमा ल्याउन सकिँदैन

आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
भौतिक पूर्वाधार मन्त्रालय भन्छ- दशैंअघि बीपी राजमार्ग सञ्चालनमा ल्याउन सकिँदैन

काठमाडौं । तराई र पूर्वी पहाडी जिल्लालाई संघीय राजधानीसँग जोड्ने सबैभन्दा छोटो बीपी राजमार्ग दशैंअघि सञ्चालनमा नआउने भएको छ । बाढी र पहिरोले क्षतविक्षत भएको राजमार्ग कहिलेदेखि सञ्चालन हुन्छ भन्ने यकिनसमेत सरकारले गर्न सकेको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढी र पहिरोबाट क्षति भएका पाँच वटा राष्ट्रिय राजमार्ग अझै सञ्चालन हुन नसकेको जनाएको हो । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी बीपी राजमार्ग त मर्मत गर्न धेरै समय लाग्ने भएकाले दशैंअघि पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसकिने स्पष्ट पारेको हो । यो राजमार्गको चौकीडाँडा-कालढुंगा खण्डको १८ किलोमिटरमा करिब १२ किलोमिटर सडक पूर्णरुपमा बगेको छ ।

यस्तै, अरनिको राजमार्गअन्तर्गत लार्चा-कोदारी खण्डमा ५ किलोमिटरमा लिपिङ पुल र लार्चाको बेलिब्रिज बगाएका कारण यातायात अवरुद्ध छ । पुष्पलाल मध्यपहाडी राजमार्गको दोलालघाट-राकथुम खण्डमा ८० किलोमिटर सडक मध्ये धेरै ठाउँमा पहिरो गएकाले सञ्चालन गर्न नसकिएको मन्त्रालयले जनाएको छ । कान्ति राजपथको घपेली-बगुवा खण्डमा १३ किलोमिटर र बागमतीसम्म मकवानपुर तथा ललिपतुर दुवैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ । 

मेची राजमार्गको रमिते-फिदिम खण्डमा रमिते डाँडाको पहिरो हटाउने काम भइरहेकाले चाँडै सञ्चालनमा ल्याउने दाबी मन्त्रालयको छ । तर, हेबा खोलामा चाहिने ५० मिटरभन्दा लामो बेलीब्रिज नहुँदा तत्काल डाइभर्सन गरेर सडक सञ्चालनमा ल्याउने योजना मन्त्रालयको छ । असोज ११ र १२ गते आएको बाढी-पहिरोका क्रममा पृथ्वी राजमार्जको झ्याप्ले खोलामा भएको दुर्घटना अहिलेसम्मकै ठूलो भएको मन्त्रालयले निष्कर्ष निकालेको छ ।

मन्त्रालयले बाढी पहिरोबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण गर्न झन्डै २५ अर्ब रुपैयाँ लाग्ने जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement