काठमाडौं । प्राकृतिक श्रोतको जथाभाबी दोहन गर्दा विपद्का घटना बढ्दै गएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले वन क्षेत्र र डाँडापाखामा आफूखुसी खानी सञ्चालनमा रोक लगाउन माग गरेको छ ।
महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर वन विनाश गरी निजी क्षेत्रले आफूखुसी खानी उत्खनन् गर्दा पहिरो र बाढीले भयावह स्थिति उत्पन्न भएको दाबी गरेको हो । सामुदायिक वन विनाशको कारण बनेका खानी सञ्चालनमा रोक लगाउन पनि महासंघले सरकारसँग माग गरेको छ ।
पर्यापर्यटनका नाममा सामुदायिक वन निजी क्षेत्रलाई नसुम्पन,समुदाय विरोधी राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन खारेज गर्न, जलवायु वित्तका रुपमा आउने रकम समुदायलाई दिन र वन्यजन्तु नियन्त्रणमा ठोस काम गर्न पनि महासंघले माग गरेको छ ।