सल्यान । अविरल वर्षाका कारण राप्ती राजमार्ग अन्तर्गत चोरखोला राम्री सडक-खण्ड भासिएको छ ।
शनिबार बिहान करिब ७:३० बजे तिर सडक भासिएको हो । सडक भासिदा यातायातका साधन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सडक पूर्णरुपमा भासिएकाले केही दिनसम्म सवारी आवागमन ठप्प हुने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक धेरै तल बाट भासिएकाले मर्मत गर्न करिब ४,५ दिन समय लाग्ने बताउनु भयो । सडक सुचालु नहुँदासम्म ठूलो सवारी साधन ठप्प हुने बताउनु भयो । साना सवारी साधनका आवागमनका लागि भने कपुरकोट पाखापानीअन्तर्गत पर्ने वैकल्पिक बाटोको प्रयोग गर्ने प्रयास गरिएपनि पानी परिरहेकाले समस्या आएको बताउनु भयो ।
भासिएको सडकमा मर्मतका लागि ठूलो वाल निर्माण गर्नुपर्ने देखिएको बताउनु भयो ।
यस्तै खलंगा-सुर्खेत-सल्यान सडकअन्तर्गत बनगाड कुपिण्डे नगरपालिका- ८ कोटभिरमा पहिर जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सवारी साधनबीच बाटोमै रोकिएका छन् । सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।