सप्तरीमा माइक्रोबसको ठक्करले नातिको मृत्यु, हजुरआमा घाइते

पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
भाद्र ३०, २०८१ |आरएन विश्वास
सप्तरीमा माइक्रोबसको ठक्करले नातिको मृत्यु, हजुरआमा घाइते

सप्तरी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदहमा विंगर माइक्रोले ठक्कर दिँदा एक जनको मृत्यु भएको छ भने एक जना घाइते छन् ।

आज बिहान भएको उक्त दुर्घटनामा नातीको मृत्यु भएको हो भने हजुरआमा घाइते भएकी हुन् । सदरमुकाम राजविराजबाट विराटनगरतर्फ तीव्र गतिमा जाँदै गरेको प्रदेश १-००२-००१ ज ३८६६ नम्बरको माइक्रोले पैदल हिँडिरहेका उनीहरूलाई ठक्कर दिएको हो ।

घाइते बनेकी भारदह निवासी ४५ वर्षीया अनितादेवी अधिकारी हुन् भने उनका १५ महिने नाति आदर्श गम्भीर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका आदर्शको उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिए पछि मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डिराज नैउपानेले जानकारी दिनुभयो ।

यता ठक्कर दिने माइक्रो र चालक प्रहरीको नियन्त्रणमा छन् । तीव्र गति र चालकको लापरबाहीले दुर्घटना भएको भन्दै स्थानीयले बिहान ८ बजेदेखि सडकमा टायर बालेर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement