रुपन्देहीमा सरकारी कर्मचारीकै संलग्नतामा सामूहिक बलात्कार

पीडित किशोरीसहित परिवारलाई ज्यानै लिने धम्की
न्याय दिन प्रदेशसभा सदस्यको माग
भाद्र २७, २०८१ |अमृता अनमोल
रुपन्देहीमा सरकारी कर्मचारीकै संलग्नतामा सामूहिक बलात्कार

बुटवल । जघन्य अपराध हो- जबरजस्ती करणी । रुपन्देहीकी १९ वर्षीय किशोरीमाथि आवासीय तालिम लिने बहानामा सरकारी कर्मचारीकै संलग्नतामा भदौ ५ गते सामूहिक जबरजस्ती करणी भएको छ । 

पीडित किशोरीको अवस्था जोखिममा छ । पीडितको उपचार, घटना अनुसन्धान र न्यायिक प्रक्रियामा ढिलाइ भएपछि रुपन्देहीका प्रदेशसभा सदस्यहरुले एकमत भएर न्याय दिलाउन सरकारसँग माग गरेका छन् ।

रुपन्देहीको कोटहीमाई गाउँपालिकाकी १९ वर्षीया एक किशोरीमाथि सरकारी कर्मचारीले नै सामूहिक जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको हो । गाउँपालिकाको आवासीय तालिममा लैजाने भन्दै लुम्बिनीको एक होटेलमा पुर्‍याएपछि शिक्षा शाखामा कार्यरत एक कर्मचारी र कोटहीमाई- ३ का अर्का एकजनाले बन्धक बनाएर किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेका थिए । किशोरीलाई पीडकले धम्की दिएपछि परिवारले घटना बाहिर ल्याएको थिएन । तर रक्तश्राव नरोकिएर स्वास्थ्य अवस्था कमजोर भएपछि औषधी उपचार गराउने क्रममा घटना बाहिरियो । भदौ १४ गते स्थानीय युवाले आरोपीलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए ।

पीडितका बाबुले पनि १५ गते उजुरी दिएपछि अहिले प्रहरीले अनुसन्धान गरीरहेको छ । पीडकले पीडित किशोरीसहित उनका परिवारलाई ज्यान लिने धम्की दिएपछि उपचार मात्र होइन, न्यायिक प्रक्रियामा पनि ढिलाइ भएको हो । बिहीबार लुम्बिनी प्रदेश सभा बैठकमा समेत रुपन्देहीका ५ जना प्रदेशसभा सदस्यले घटनाको छानबिन गरी पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन् ।

प्रदेशसभा सदस्यहरुले जबरजस्ती करणी, लैंगिक हिंसा र अपराध नियन्त्रण गर्ने अभियान नै चलाउन माग गरेका छन् । प्रदेशसभा सदस्यहरुले महिला हिंसा र जबरजस्ती करणीपीडितको न्यायको माग गर्दै सरकारलाई खबरदारी गरेका हुन् । जनप्रतिनिधिको यो पहल केबल प्रदेशसभाभित्र मात्र सीमित नहोस् भन्ने अपेक्षा आमनागरिकको छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement