अख्तियारले थाल्यो एक लाखभन्दा बढी लाइसेन्समा भएको अनियमितताको छानबिन

२७ वटै कार्यालयसँग कर्मचारीको तीन पुस्ते माग
सीआईबीको अनुसन्धान दोस्रो चरणमा
भाद्र २५, २०८१ |विकास आचार्य
अख्तियारले थाल्यो एक लाखभन्दा बढी लाइसेन्समा भएको अनियमितताको छानबिन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख २ हजारभन्दा बढी सवारी लाइसेन्समा भएको अनियमितताको अनुसन्धान थालेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले छानबिन जारी राखेको बेला अख्तियारले पनि अनुसन्धान थालेको हो ।

यातायात व्यवस्था विभागले गरेको छानबिनमा सेवाग्राही, कर्मचारी र विचौलियाको मिलेमतोमा १ लाख २ हजार नक्कली लाइसेन्स जारी भएको देखिएको थियो । सोही आधारमा छानबिनका लागि विभागले सीआईबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धानका लागि विभागले पत्रचार गरेको थियो । विभागको आग्रहअनुसार अख्तियारले १ लाख २ हजारभन्दा बढी लाइसेन्समाथि अनुसन्धान सुरु गरेको हो ।

यो विषयमा सीआईबीले पनि दोस्रो चरणको अनुसन्धान जारी राखेको छ । अख्तियारले पहिलो चरणमा देशभरका ४० मध्ये २७ कार्यालयका १ हजार १ सय ५० सेवाग्राहीको लाइसेन्स अनुसन्धान गरेको छ । ती लाइसेन्स जारी गर्ने ३ सय ९५ जना कर्मचारीको तीन पुस्ते विवरण विभागसँग मागेको छ । स्रोतका अनुसार अनुसन्धान गरिएका अधिकांश लाइसेन्स कि त कार्यालय समय पछि कि सुरुमा फेल भएकालाई केही समयभित्र उत्तीर्ण गराएर जारी गरिएका छन् । अख्तियारको पत्रपछि विभागले २७ वटै कार्यालयसँग कर्मचारीको तीन पुस्ते मागेको छ ।

यसरी तीन पुस्ते माग गरिएकाहरुमा अधिकांश माथिल्लो तहका कर्मचारी छन् । कतिपय त कार्यालय प्रमुख भएर काम गरिरहेका र अवकास प्राप्त कर्मचारी पनि छन् । अख्तियारले बुटवल कार्यालयका ५ सय २०, नेपालगञ्जका २६, जुम्लाका ५५, एकान्तकुनाका १७ र इटहरी कार्यालयका ३१ वटा लाइसेन्सको नमुना लिएर सुरुवाती अनुसन्धान गरेको छ ।

अख्तियारले छानबिन थालेसँगै श्यामप्रसाद लोसहितका केही कर्मचारीले यातायात व्यवस्था विभागलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ता गरेका छन् । उनीहरुले लाइसेन्स छपाइसमेतको अधिकार यातायात कार्यालयको रहेको तर, विभागले अधिकार नदिइ अनावश्यक मुद्दा मामिला र बदनाम गराउन खोजेको आरोप लगाएका छन् ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement