धनगढी/दाङ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थारु समुदायले अट्वारी पर्व मनाइरहेका छन् ।
हरेक वर्षको कुशेऔँशी पछिको आइतबार मनाउने यो पर्वलाई कतै आइतवारी तथा अट्वारी पर्व भन्ने गरिन्छ । परापुर्व कालका थारु समुदायका राजा दङ्गीशरण माथि आक्रमण हुदाँ पाँच पाण्डवमध्येका भीमको सहयोगले उनी बाँचेको र रावण समेत परास्त भएकाले भीम जस्तै बलियो हुने मान्यताले थारु समुदायका पुरुषले आजको दिनमा वर्त बसी पुजाअर्चना गर्ने चलन छ ।
थारु राजाको सुरक्षा गरेका भीमलाई भगवानको रुपमा मान्दै थारु समुदायका पुरुषहरु दिनभर ब्रत बसेर साँझ गन्यारी भन्ने काठबाट निकालिएको चोखो आगोमा पकाएको परिकार खाएर यो पर्व मनाउने गर्दछन् । चेलिबेटीलाई श्रद्धा सहित सम्मान गर्ने चलनले यो पर्वलाई दाजु भाई तथा दिदीबहिनी बिचको सम्बन्धलाई प्रगाढ बनाउने पर्वको रुपमा समेत लिइन्छ ।
माघीपछिको दोश्रो ठूलो चाड अट्वारीमा थारु समुदायका पुरुष ब्रत बसी गन्यारी काठबाट निकालेको चोखो आगोमा एकापट्टी मात्र पकाएको रोटी भीमलाई चढाउने र प्रसादको रुपमा खाने चलन छ । अट्वारी पर्वको अबसरमा लुम्बिनी प्रदेश सरकारले थारु समुदायलाई विदा दिएको छ भने केहि पालिकाहरुमा सार्वजनिक विदा दिइएको छ ।