काठमाडौं । कतारका लगि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलको सुनुवाइ आज हुने भएको छ ।
आइतबारबाट सुरु भएको सुनुवाइमा पाकिस्तान, मलेसिया, इजरायल र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरुले नेपाली श्रमिकको हितदेखि दुई पक्षीय सम्बन्ध थप विस्तारसम्मको आ-आफ्ना कार्ययोजना पेस गरिसकेका छन् । संसदीय सुनुवाइ समितिको सोमाबारको बैठकमा प्रस्तावित राजदूत मध्ये केहीले आफ्नो क्षेत्राधिकारले नभ्याउने र कूटनीतिक मर्यादा बाहिरका अति महत्वाकांक्षी योजना समेत सुनाए ।
इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले हमासको कब्जामा रहेका विपिन जोशीको फिर्ताको पहल पहिलो प्राथमिकता हुने बताउनुभयो । सूचना प्रविधि, कृषि र पर्यटनमा विशेष जोड हुने बताएका पण्डितले इजरायल र हमास युद्धले आक्रान्त परिस्थितिबारेको प्रसंगमा प्यालेष्टाइनलाई पनि स्वतन्त्र भएर बाँच्न दिनुपर्ने सुझाव दिने योजना सुनाउनुभयो ।
सांसदहरुले युद्धमा फसेका विपिन जोशीको रिहाइ तथा अरु नेपाली नागरिकको फिर्ताको पहल के हुन्छ भनेर प्रश्न गरेका थिए । संसारमै चर्चित इजरायली कृषि प्रविधि नेपाल भित्र्याउने भूमिकाबारे पनि सांसदहरुले सोधेका थिए ।
त्यसैगरी मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिनाले मलेसियामा रहेका नेपाली श्रमिकको हितका लागि काम गर्ने बताउनुभयो । मलेसियासँग २०१८ देखि रोकिएको श्रम नवीकरण गर्न पहल गर्ने, कल्याणकारी कोषहरुमा कामदारको पहुँच बढाउने, फ्रि भिसा फ्रि टिकटलाई व्यवस्थित गर्ने योजना उहाँको छ ।
पोर्चुगलका लागि प्रस्तावित प्रकाशमणि पौडेलले पोर्चुगलमा दूतावास स्थापनादेखि श्रम सम्झौता गर्ने प्रतिबद्धता जनाउनुभयो। पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालले अन्तरदेशीय व्यापार अभिवृद्धि गर्न सार्क शिखर सम्मेलनका संयन्त्रलाई प्रभावकारी बनाउने बताउनुभयो ।
मलेसिया र इजरायलका प्रस्तावित राजदूतले आफूमाथिको उजुरीका बारेमा भने खण्डन गरिरहँदा सांसदहरुले मुलुकको हित हुने नयाँ योजना केन्द्रित प्रति प्रश्न गरेका थिए ।