हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-२ गौरीसल्लामा भएको जिप दुर्घटनामा परेका घाइते मध्ये थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चंखेली गाउँपालिका-२, का ५० वर्षीय तिलकबहादुर शाही रहेका छन् । शाहीसहित दुर्घटनामा परि मृत्यु हुनेको संख्या २ पुगेको छ ।
गम्भीर घाइते भएका शाहीसहित चार जनालाई बुधबार सिम्रिक एयरको हेलिकप्टोरबाट प्रदेश अस्पताल सुर्खेत लगिएका थियो । शाहीको उपचारका क्रममा सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
चंखेली- २ को गर्खाबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश २०० च ०९२२ नम्बरको जिप गौरीसल्लामा भदौ ५ गते दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका ७ जनामध्ये बलेरो जिप मालिक रमेश मल्लको उपचारकै क्रममा भदौ ६ गते नै मृत्यु भएको हो भने अर्का घाइते शाहीको उपचारका क्रममा आज मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ७ जनामध्ये चंखेली गाउँपालिका-२, का तिलबहादुर शाही, सुरेन्द्रबहादुर शाही, र छायाँनाथ रारा नगरपालिका-१३, का रमेश मल्ल, र पृथ्वी रावतलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको थियो । जसमा शाही र मल्लको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।