सवारी दुर्घटना : उपकरणको अभावले उद्धारमा कठिनाइ

भाद्र ८, २०८१ |पोषनाथ अधिकारी
सवारी दुर्घटना : उपकरणको अभावले उद्धारमा कठिनाइ

तनहुँ । नेपालका अधिकांश राजमार्गहरु सुरक्षाका हिसाबले निकै संवेदनशील छन् । दैनिक हजारौं सवारी कुद्ने राजमार्ग लाइफ लाइन पनि हुन् । तर त्यहाँ भैरहने दुर्घटना रोकथाम र क्षति कम गर्न राज्यको ध्यान पुगेको देखिन्न । दुर्घटनापछि उद्धारका लागि पुगेकाहरु समेत रित्तो हात रमिते बन्नु पर्ने अवस्था छ, जसले गर्दा तत्काल उद्धार हुन नसकेर घाइतेले ज्यान गुमाउनुपर्ने अवस्था आउने गरेको छ ।

शुक्रबार बिहान तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भयो अन्य १६ जना गम्भीर घाइते अवस्थामा उपचारारत छन् । बस सडकबाट झन्डै सय मिटर तर मर्स्याङ्दी किनारमा खसेको थियो । निकै कठिन भूगोल भएका कारण उद्धारमा सकस भयो । 

बस खसेको थाहा पाउने बित्तिकै उद्धारका लागि घटनास्थल पुगेका स्थानीय र सुरक्षाकर्मीले केही गर्न सक्ने अवस्था रहेन । पछि भिरमा डोरी टाँगेर उद्धार थालियो जुनबेलासम्म धेरै घाइतेले ज्यान गुमाइसकेका थिए । प्रयाप्त उपकरणको अभावमा उद्धारमा कठिनाइ हुँदा समयमा उपचार नपाइ ज्यान गुमाएकाहरुलाई हेरिरहनुपर्ने अवस्थामा उद्धारकर्मीहरु रहे ।

यसअघि गत असार २८ गते चितवनको सिमलतालमा लेदोसँगै आएको पहिरोले २ वटा बस त्रिशुली नदीमा खसेर हरायो । प्रयाप्त आधुनिक उपकरणको अभावमा केही यात्रुसहित २ वटा बस बेपत्ता भयो । देशभर रहेका झन्डै ८४ हजार किलोमिटर सडकमा दैनिक ३२ लाखको हाराहारीमा यातायातका साधन गुड्ने गरेको छ ।

आर्थिक वर्ष २०७६ / ०७७ देखि गत आर्थिक वर्षको तथ्याङकलाई हेर्दा देशभर १ लाख ७ हजार २ सय ६० दुर्घटनामा १२ हजार ३ सय ७९ जनाले ज्यान गुमाएका छन् भने १ लाख ३६ हजार ६ सय ५० जना घाइते भएको तथ्याङक छ । जसमा ३० हजार २ सय ५१ जना गम्भीर घाइते भए । यो तथ्यांक कहाली लाग्दो छ । हरेक वर्ष यति धेरै मानवीय क्षति बेहोर्दा समेत उद्धारमा खटिने सुरक्षाकर्मीलाई प्रविधियुक्त नबनाउँदा घटनास्थल पुग्ने सुरक्षाकर्मीले समयमा नै उद्धार गर्न सक्ने अवस्था छैन ।

राजमार्ग क्षेत्रमा दैनिक हुने ठूला दुर्घटनामा समयमा उद्धार र उपचार नपाएर जीवन गुमाउनेको संख्या दिनानुदिन बढिरहँदा पनि सडक सुरक्षामा राज्यको चासो कम देखिन्छ । त्यसो त राजमार्गमा हुने दुर्घटना रोकथाम र क्षति रोक्ने योजना नै सरकारसँग छैन । जसका कारण चालक र सवारी प्रयोगकर्ता त्रासमा यात्रा गर्न बाध्य छन् । 


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement