अमेरिकामा हत्या भएकी ममताका आफन्त शोकाकुल

भाद्र ८, २०८१ |पुजन धिताल
अमेरिकामा हत्या भएकी ममताका आफन्त शोकाकुल

काभ्रे । अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको बेपत्ता प्रकरणमा स्थानीय प्रहरीले ममताका पति नरेश भट्टलाई पक्राउ गरेको छ । तर, प्रहरीले ममताको स्थिति अझै औपचारिक रुपमा सार्वजनिक गरेको छैन । यता, ममताको माइती काभ्रेको पनौती भने शोकमा डुबेको छ ।

अमेरिकाको भर्जिनियामा नर्सका रुपमा कार्यरत ममता काफ्लेले गत साउन १५ गते अन्तिम पटक पनौतीस्थित माइतीघरमा आमासँग कुरा गरेकी थिइन् । दिनहुँजसो भिडियो कल गरेर आमासँग कुरा गर्ने ममता त्यसपछि सम्पर्कमा आइनन् । ममताका पति नरेश भट्टलाई सोध्दा कामविशेषले टाढा गएकाले सम्पर्क हुन नसकेको बताइरहे ।

परिवारका अनुसार केही समययता नरेश र ममताबीच बेमेल बढेको थियो । ममता सम्पर्कविहीन भएपछि ममताका देवरलाई फोन गर्दा उनले समेत दाजुभाउजुका बारेमा नसोध्न आग्रह गरेका थिए ।

ममता साउन १६ गते कार्यालयमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिन प्रहरीलाई खबर गरेका थिए । सुरुमा प्रहरीमा रिपोर्ट गर्न नचाहेका नरेशले झन्डै एक सातापछि मात्र ममता हराएको जानकारी दिएका थिए ।

अनुसन्धानपछि भर्जिनियाको मनासस प्रहरीले ममतालाई बेडरुममै हत्या गरी शव लुकाएको आरोपमा नरेशलाई बिहीबार पक्राउ गरेको छ । तर ममताको स्थितिबारे अझै स्पष्ट जानकारी दिइएको छैन । परिवार अब नातिनी अर्थात् ममताको छोरीको भविष्यप्रति चिन्तित छ ।

ममताकी आमा गीता काफ्ले र अन्य एक जना अमेरिका प्रस्थान गर्ने तयारीमा छन् । 


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।