काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा पर्व । तागाधारी समुदायले आज जनै फेरेर र हातमा रक्षा बन्धन गरी जनैपूर्णिमा पर्व मनाएका छन् । तराईमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई हातमा राखी बाँधिदिएका छन् । नेवार समुदायले भने भ्यागुताको पूजा गरी परम्परागत क्वाँटी पून्ही पर्व मनाएका छन् । आज देशभरका नदी, ताल, तलाउ, पोखरी गंगासागर, त्रिवेणीधाम लगायतका स्थानमा मेलासमेत लाग्यो ।
मानव रक्षाका लागि भन्दै जनै पूर्णिमाका दिन तागाधारी समुदायले जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो बाँध्ने चलन छ । ऋषि तर्पणीका नामलेसमेत चिनिने यो पर्वमा पोखरी, दह, नदी, ताल-तलाउमा गई स्नान गरेर पुरोहितबाट रक्षाबन्धन गर्ने चलन छ । यो दिन ब्राह्मण र क्षत्रीहरुले आफ्नो जनै फेर्ने र रक्षाबन्धन गर्ने चलन छ । हातको दाहिने नाडीमा रक्षाबन्धन गरे शरिर र स्वास्थ्यको रक्षा प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।
नेवार समुदायले भने ९ थरी गेडागुडी मिसाई भिजाएर टुसा उमारी बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हटाई ताप सञ्चार गर्छ भन्ने मान्यता छ ।
नेवार समुदायमा प्राकृतिक देवताका रुपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने चलन छ । खेतबारीमा किरा नष्ट गरेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रुपमा खाद्य परिकार राखेर खेत खेतमा गइ भ्यागुताको पूजा र भोजन गराउने परम्परा छ । यसलाई ‘ब्यां जा नकेगु’ भन्ने गरिन्छ, अर्थात् भ्यागुतालाई भात खुवाउनु ।
तराई मधेश प्रदेशमा भने दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाएका छन् । यसबाट दिदीबहिनी र दाजुभाइ बीच प्रेमसम्बन्ध बढ्छ भन्ने मान्यता छ ।
श्रावण शुक्त पूर्णिमाका दिन रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाँघु एवं नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा मेलासमेत लाग्यो ।
नेपालमा समुदायपिच्छेका फरक चाडपर्व छन् । यस्ता चाडपर्वले नेपालीलाई एकताको सूत्रमा बाँध्न सहयोग मात्र पुर्याएका छैनन् नेपालको सांस्कृतिक पहिचानसमेत बनेका छन् ।