प्यूठान । तीनै तहका सरकारको प्राथमिकतामा यतिखेर सडक निर्माण परेको छ । विकासको पहिलो आधार सडकले गाउँगाउँसम्म विकास पुर्याउँछ । तर गाउँको विकासको नाममा खनिने यस्ता सडकमा सावधानी नअपनाइदा त्यसले वातावरणीय विनाशसँगै विपत्ति निम्त्याउने गरेको छ ।
१२० घरधुरीले प्रयोग गर्दै आइरहेको खानेपानी आयोजना गत असार यता सञ्चालनमा छैन । मल्लरानी, चुँजा- सोलहाल्ना रणनीतिक सडक निर्माणका क्रममा फालिएको ढुङ्गामाटो बर्खे भेलसँगै बग्दा त्यसले मल्लरानी गाउँपालिका ३ को बर्बौट, मुनडाँडा लगायतका गाउँको खानेपानी आयोजनामा पूर्णरुपमा क्षति पुर्याएको छ ।
चेरनेटा, चिन -जाबुने सडक बनाउँदा निस्किएको ढुङ्गामाटो भेलले बगाउँदा ऐरावती गाउँपालिका ४ तिल्केनीका ६ घर परिवार विस्थापित भएका छन् । उनीहरुले विद्यालयमा आश्रय लिइरहेका छन् । गत वर्षदेखि भुस्वाङ्ग खोलामा आउने बाढीले प्यूठान नगरपालिकाको बुढदेवी र मजुवा बस्ती जोखिममा छ । अहिलेको बर्खामा मात्रै प्यूठान नगरपालिकाको ९ र १० नम्बर वडाका दुई दर्जन घरपरिवार विस्थापित भएका छन् भने अन्य दर्जनौ परिवार जोखिममा छन् । सडक निर्माण गर्दा त्यसले पार्ने प्रभावलाई ख्यालै नगर्दा त्यसले बर्खामा ठूलो विपत्ति निम्त्याउने गरेको छ ।
तीनै तहका सरकार महतहतका विकास निर्माणका परियोजनामा वातावरणीय प्रभाव मूल्याङ्कको वेवास्ता गर्दाको दुस्परिणम देखिन थालेको छ । जिल्लामा खनिने अधिकाशं सडकको प्रारम्भिक वातावरणीय परीक्षण र वातावरण प्रभाव मूल्याकंन नै गरिएको पाइदैन ।
ठूला मेसिनको प्रयोगले भूसतह थर्किने र बर्खामा पहिरो जाने समस्या पनि उस्तै छ । वातावरणीय प्रभावलाई ख्यालै नगर्नेहरुलाई पनि नियामकहरुले देखेको नदेखै गर्ने गरेका छन् ।
सडक खन्दा रुख काट्नुपरेमा एक विरुवा बराबर १० बिरुवा रोप्नुपर्ने प्रावधान छ । तर, त्यसको पालना भएको छैन । बरु सडक निर्माण गर्दा माटो र ढुगांले तल्लो तहमा रहेको वन जगंलमा ठुलो नोक्सानी पुर्याउने गरेको छ ।