वीरगञ्ज नाकाबाट हुने आयात निर्यातमा झण्डै १४ प्रतिशतले गिरावट, राजस्व संकलन भने बढ्याे

श्रावण २३, २०८१ |उपेन्द्र ठाकुर
वीरगञ्ज नाकाबाट हुने आयात निर्यातमा झण्डै १४ प्रतिशतले गिरावट, राजस्व संकलन भने बढ्याे

वीरगञ्ज । वीरगञ्ज नाकाबाट हुने आयात निर्यातमा आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा झण्डै १४ प्रतिशतले गिरावट आएको छ । आयात निर्यात व्यापारमा गिरावट आए पनि राजस्व संकलन भने ४ प्रतिशतले बढेको छ । तर, औद्योगिक कच्चा पदार्थको आयातमा गिरावट आउनु र निर्यात व्यापार पनि १४ प्रतिशतले घटनुले आर्थिक क्षेत्र अझै पनि पुनरुत्थान हुन नसकेको संकेत गरेको छ । 

आर्थिक वर्ष २०७९/८० मा वीरगञ्ज भन्सार नाकाबाट ६ खर्ब ९९ अर्ब रुपैयाँको मालवस्तु आयात भयो । त्यस्तै ३७ अर्ब २३ करोड रुपैयाँको मालवस्तु निर्यात भयो । अघिल्लो आर्थिक वर्षको तुलनामा २०८०/८१ मा व्यापार बढने अपेक्षा गरिएको थियो । तर, २०८०/८१ मा यो नाकाको आयात व्यापारमा १३ प्रतिशतले कमी आई ६ खर्ब ९ अर्ब रुपैयाँको मालवस्तु मात्रै आयात भयो । त्यसैगरी निर्यात व्यापार १४ प्रशितशले घटेर ३१ अर्ब ८५ करोड रुपैयाँ मालसामान मात्रै निर्यात भयो । समग्रमा आर्थिक वर्ष २०७९/८० को तुलानामा २०८०/८१ मा यो भन्सार नाकाबाट मात्रै ५ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको देखिन्छ । आयात निर्यात व्यापार घट्दा पनि राजस्व संकलनको अवस्थामा भने थोरै सुधार भएको देखिन्छ । २०७९/८० मा लक्ष्यको ६० प्रतिशत मात्रै राजस्व संकलन गरेको वीरगञ्ज भन्सारले २०८०/८१ मा ६४ प्रतिशत राजस्व उठायो ।

२०७९/८० मा २ खर्ब ६१ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको वीरगञ्ज भन्सारले लक्ष्यको ६० प्रतिशत अर्थात् १ खर्ब ५७ अर्ब रुपैयाा संकलन गरेको थियो । हरेक आर्थिक वर्षमा पहिलेको भन्दा झण्डै १० प्रतिशतले राजस्वको लक्ष्य बढाउने गरेको सरकारले व्यापारमा आएको गिरावटलाई देखेर २०८०/८१ का लागि २ खर्ब ४५ अर्ब ८८ करोड रुपैयाा बराबरको राजस्व लक्ष्य दियो । तर, यस नाकाबाट ठूलो परिमाणमा आयात हुने मुख्य मालवस्तुको व्यापारमा खासै सुधार हुन नसक्दा २०८०/८१ मा राजस्वमा थोरै सुधार देखिए पनि व्यापारमा भने सुधार हुन नसकेको हो ।

आयात निर्यात दुवै व्यापारमा गिरावट आउनु र त्यसमा पनि खासगरी औद्योगिक कच्चा पदार्थको आयात घट्नुले नेपालमा उद्योग व्यापारको अवस्थामा सुधार हुन नसकेको संकेत गरेको छ भने तयारी मालवस्तुको आयात र राजस्वमा थोरै मात्र वृद्धि हुनुले देशको अर्थनीति उद्योग व्यवसायमैत्री भन्दा पनि व्यापारमैत्री हुादै गएको देखिएको छ ।


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement