कस्तुरीको बिनासहित एक जना हुम्ला प्रहरीको नियन्त्रणमा

श्रावण ३, २०८१ |जनकबहादुर शाही
कस्तुरीको बिनासहित एक जना हुम्ला प्रहरीको नियन्त्रणमा

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटबाट ठूलो परिमाणमा कस्तुरीको बिनासहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

भारतको दिल्लीबाट रुपईडीहा, नेपालगन्ज, सुर्खेत, कालिकोट र बाजुरा हुँदै स्थल मार्गबाट चीनको स्वशासित क्षेत्र तिब्बत लैजान सिमकोट पुर्‍याइएको अवस्थामा १८ थान ३ सय ४१ ग्राम कस्तुरीको बिना बुधबार बरामद गरेको हुम्ला प्रहरी प्रमुख डीएसपी रवीन्द्र खनालले जानकारी दिनु भयो ।

विशेष सुराकीका आधारमा खटिएको प्रहरीको टोलीले सिमकोट गाउँपालिका- ६ को बजार क्षेत्रमा रहेको आफ्नै घरमा लुकाएर राखेको अवस्थामा नाम्खा गाउँपालिका- ३, केर्मी निवासी कन्जोक तामाङलाई बिनासहित निजकै घरबाट नियन्त्रणमा लिएको डिएसपी खनाले जानकारी दिनु भयो ।

बरामद वस्तु खैरो र कालो रङको कस्तुरीको बिना लिई असार २७ गते भारतको दिल्लीबाट हिँडेका तामाङ साउन १ मा सिमकोट पुगेको प्रहरी समक्ष बयानका क्रममा तामाङले बताएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनु भयो ।

दिल्लीमा ७ लाख भारतीय रुपैयाँमा खरिद गरेर ल्याएको बिना तामाङले चीनको तिब्बतमा बिक्रीका लागि लैजान लागेका थिए । अहिले तिब्बतमा १ ग्राम कस्तुरीको बिना ४० देखि ४५ हजार नेपाली रुपैयाँमा बिक्री हुने प्रहरी निरीक्षक चन्दको भनाइ छ ।

सुराकी पाए लगतै बुधबार बेलुका प्रहरी निरीक्षक चन्दको नेतृत्वमा खटिएको एघार जना प्रहरीको टोलीले तामाङको घरमा तलासी गरेको थियो । त्यस क्रममा १८ थान बिनासहित दुई थान मोबाइल, झोला, एटीएम, पासपोर्ट, नागरिकता, ३ हजार चिनियाँ रुपैयाँ र तराजुलगायतका वस्तु बरामद गरेको सो घटना सार्वजनिक गर्न बिहीबार बिहान आयोजना गरिएको पत्रकार सम्मेलनमा डिएसपी खनाले जानकारी दिनु भयो ।

प्रहरीले प्रारम्भिक बयान लिएको र आज नै बरामद सामानसहित तामाङलाई डिभिजन वन कार्यालय हुम्लालाई बुझाएको उहाँले जानकारी दिनुभयो ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement