जन्ती बोकेको जिप नहरमा खस्दा २ जनाको मृत्यु

३ जना घाइते, चालक फरार
असार २८, २०८१ |राजेश्वर पाण्डे
जन्ती बोकेको जिप नहरमा खस्दा २ जनाको मृत्यु

रौतहट । रौतहटको गढीमाई नगरपालिका ६, सिंगारमन धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बरको जिप (स्कार्पियो) नहरमा खस्दा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एलिजा गिरीका अनुसार दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । धनहारी गाउँबाट सर्लाहीतर्फ जन्ती बोकी जाँदै गरेको एच.आर.७ डी. ८३८२ नम्बरको जिप अनियन्त्रित भई नहरमा पल्टिएको थियो ।

जिपमा १२ जना चढेका थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जिपका चालक भने फरार भएका छन् ।

प्रहरी प्रवक्ता गिरीका अनुसार मृत्यु हुनेमा काठमाडौंका ५५ वर्षीय कुलबहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३, सुन्दरपुरका रवीन्द्र पण्डितकी ७ वर्षीया छोरी स्वेता छन् ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।