विपद्को जोखिम घटाउन सङ्खुवासभा कहिले तयार हुने ?

असार २१, २०८१ |दीपेन्द्र शाक्य
विपद्को जोखिम घटाउन सङ्खुवासभा कहिले तयार हुने ?

सङ्खुवासभा । दश वर्षमा सङ्खुवासभामा बाढी पहिरोका कारण २१ जनाले ज्यान गुमाए भने ३८ जना बेपत्ता छन् । विपद्‌बाट बर्सेनि धेरैले ज्यान गुमाउने र ठूलो आर्थिक क्षतिसमेत हुने गरे पनि पीडितलाई राहत तथा पुनःस्थापनाका लागि भने खासै ध्यान पुगेको देखिँदैन । तर आसन्न विपद्को जोखिम कम गर्न प्रशासन र स्थानीय तहले तयारी गरेको दाबी गरेका छन् ।

विगत १० वर्षयताको तथ्याङ्क हेर्दा सङ्खुवासभामा एक सय सात वटा पहिरो गएको छ । त्यसबाट पहिरोमा १६ जनाले ज्यान गुमाए । बाढीका कारण पाँच जनाको मृत्यु र १९ जना बेपत्ता भए । २०७१ देखि २०८१ असारसम्म सङ्खुवासभामा दर्जनौँ बस्ती विस्थापित भएका छन् । २०८० असार २ गते हेवाखोलामा बाढी आउँदा हाइड्रोपावरमा कार्यरत १७ जना बेपत्ता भएका थिए । त्यस्तै गरी, २०७७ असार २७ मा गते राति आएको पहिरोले सिलिचोङ गाउँपालिका-१ बेसिन्दामा ११ जना बेपत्ता बनाएको थियो ।

पछिल्लो समय जताततै डोजरको प्रयोगले हुने विकासले बाढी पहिरो र भूक्षयको जोखिम बढिरहेको छ । जिल्लाका ७६ वडामध्ये ५८ वडामा बाढी पहिरोको प्रभाव पर्न सक्ने अनुमान गरिएको छ । बाढी पहिरोबाट हुने क्षतिको विषयमा आवश्यक छलफल नहुँदा स्थानीय तहले पनि योजना बनाउन नसकेको र पीडितलाई राहत तथा पुनःस्थापनाका लागि ध्यान दिन नसकेको स्थानीयको गुनासो छ ।

तीनवटै सुरक्षा निकायमा खोज तथा उद्धारका लागि २९ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति भने तयारी अवस्थामा राखिएको दाबी गरिएको छ । यसवर्ष धेरै पानी पर्ने प्रक्षेपण गरिएकाले प्राकृतिक प्रकोपको जोखिम पनि बढी नै हुनसक्छ ।

गत जेठ २८ बाट सुरु भएको मनसुनबाट २ जनाले ज्यान गुमाएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष सङ्खुवासभामा ७ हजार ६ सय २६ व्यक्ति र १ हजार पाँच सय २५ परिवार प्रभावित हुने आकलन गरिएको छ । त्यसमध्ये १ सय ५३ परिवारका ७ सय ६३ जनालाई भने राहत उपलब्ध गराउनु पर्ने देखिएको छ ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।