सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार, भन्छन्- एकपटक पनि सोधिएन

असार ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार, भन्छन्- एकपटक पनि सोधिएन

काठमाडौं । मानवअधिकारकर्मी सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूत बन्न सरकारले गरेको प्रस्ताव अस्वीकार गर्नुभएको छ ।

राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा गम्भीर विमर्श आवश्यक रहेको भन्दै प्याकुरेलले राजदूतको पद अस्वीकार गर्नुभएको हो ।

उहाँले दक्षिण कोरियाका लागि राजदूत पदमा गरेको सिफारिस फिर्ता लिन अनुरोध गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन नै दर्ता गराउनुभएको छ ।

उहाँले राजदूत सिफारिस गर्नुअघि आफूलाई एकपटक पनि नसोधिएको र परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा संकेतसमेत नदिएको विज्ञप्तिमार्फत जनाउनुभएको छ । ‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यक्षमता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्व परामर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु,’ प्याकुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यस सन्दर्भमा राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक देख्दछु ।’

मानवअधिकारको क्षेत्रमा क्रियाशील प्याकुरेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकार हुनुहुन्थ्यो । तर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आठ देशका लागि राजदूत सिफारिस गरेको थियो । जसमा प्याकुरेललाई दक्षिण कोरियाका लागि प्रस्ताव गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.