तानसेनमा तरकारी जात्रा [भिडियो र तस्बिर]

असार ७, २०८१ |माधव अर्याल
तानसेनमा तरकारी जात्रा [भिडियो र तस्बिर]

पाल्पा । तानसेन नगरपालिका ३, होलाङ्गदीमा प्रविधियुक्त थोकबजार सञ्चालनमा आएपछि खुसी भएका किसानलाई प्रोत्साहन दिन र बिक्री वितरणमा सहजता ल्याउन तरकारी जात्रा निकालिएको छ ।

तानसेनमा ६ महिनाअघि सञ्चालनमा आएको मिलनसार कृषि उपज थोक बजार केन्द्र तथा तरकारी प्रशोधन मेसिनबाट प्रशोधित तरकारी बिक्रीका लागि प्रचारको नयाँ शैली अपनाइएको हो । तानसेन बजारमा शरीरका विभिन्न भागमा भिन्न जातका तरकारीकै कपडा लगाएर युवायुवतीलाई प्रदर्शन गरिएको हो ।

टाउकोदेखि खुट्टासम्म फरकफरक जातका तरकारी लगाएर बजारमा डुलाएर प्रचार गरिएको हो । तानसेनको बसपार्क टुँडिखेल, भीमसेनटोल, नारायाणस्थान, असनटोल शीतलपाटी, मखनटोल हुलाकचोक, सिल्खानटोल हुँदै विशाल बजारसम्म तरकारीको जात्रा प्रदर्शन गरिएको हो ।

शरीरमा आलु, लसुन, प्याज, टमाटर, भिन्डी, करेला, लौका, बन्दा, काउली, भान्टा, सिमी, बोडीलगायत तरकारी लगाएर जात्रा देखाएका थिए ।

तरकारी थोक बजारको प्रचारप्रसार गर्दै उपभोक्तालाई ताजा सफा तरकारीको जानकारी दिन नयाँ शैली अपनाइएको संस्थाकी अध्यक्ष कमला भण्डारीले बताउनुभयो । संस्थाले दैनिक रुपमा १० टन तरकारीको कारोबार गर्दै आएको छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement