पानी पर्नेबित्तिकै आत्तिन्छ सिन्धुपाल्चोक

मनसुन सुरु भइसक्दा पनि विपद्को सम्भावित क्षति रोक्ने पूर्वतयारी फितलो
सिन्धुपाल्चोकमा मात्रै १८३ बस्तीका २५ हजार मानिस प्रभावित हुने आकलन
दोहोरिन्छ विपद्, फितलो पूर्वतयारी
असार ३, २०८१ |कमला पाख्रिन
पानी पर्नेबित्तिकै आत्तिन्छ सिन्धुपाल्चोक

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बर्सेनि बाढीपहिरोजस्ता प्राकृतिक विपद् दोहोरिने गर्छन् । जिल्ला विपद् व्यवस्थापन समितिले यस वर्ष पनि १८३ बस्तीका २५ हजार ८८ मानिस प्राकृतिक विपद्‌बाट प्रभावित हुने अनुमान गरेको छ । तर, मनसुन सुरु भइसक्दा पनि सम्भावित क्षति रोक्न कृत्रिम अभ्यास र पूर्वसूचना दिनेबाहेक अन्य पूर्वतयारी फितलो छ ।

विपद् संकटग्रस्त जिल्ला सिन्धुपाल्चोकमा मनसुन सुरु भएसँगै बल्ल जिल्ला विपद् व्यवस्थापन समिति विपद्‌बाट हुनसक्ने जोखिम न्यूनीकरणमा जुटेको छ । यस वर्ष राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सिन्धुपाल्चोकका ३१ जोखिमयुक्त बस्ती सार्न सिफारिस गरेको छ । तर बस्ती सार्न र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित बासस्थानमा सार्ने तयारी त परको कुरा उनीहरुसँग छलफलसमेत गरिएको छैन । यसले अघिल्ला वर्ष मनसुनबाट जोगिएकाहरु यस वर्ष पुनः त्रासमा परेको हेलम्बुका खिलप्रसाद लामिछाने बताउनुहुन्छ ।

मौसम पूर्वानुमान महाशाखाले यस वर्ष त झन् धेरै वर्षा हुने अनुमान गरेको छ । बढी पानी पर्ने भएपछि प्राकृतिक प्रकोपको जोखिम पनि बढी नै हुन्छ । जोखिम आकलन गरेर विपद्‌का बेला बस्न सुरक्षित स्थान, उद्धारका लागि हेलिप्याड, बिजुली र सञ्चार अवरुद्ध भएको खण्डमा वैकल्पिक विधिबारे भने काम शून्य छ । समयमै प्रभावित क्षेत्रका लागि काम गर्न नसके स-साना विपद्‌ले पनि ठूलो क्षति हुन सक्ने जलवायुविज्ञ धर्मराज उप्रेतीको भनाइ छ ।

बाढी-पहिरो कतिबेला आउला र उद्धार गरौंला भन्ने खालका मात्रै योजना बन्छन् तर बाढी पहिरोबाट हुने क्षतिको विषयमा भने आवश्यक छलफल नहुँदा क्षति नहुने गरी सरकारले योजना अहिलेसम्म बनाउन सकेको छैन । सिन्धुपाल्चोकका २१५ बस्तीको भौगर्भिक अध्ययनपश्चात् मनसुनजन्य विपद्का कारण यस वर्ष ६ हजार १५० घरपरिवारमा जोखिममा पर्न सक्ने विश्लेषण जिल्ला विपद् व्यवस्थापन समितिले गरेको छ ।

२०७१ को जुरे पहिरोदेखि सिन्धुपाल्चोकमा सुरु भएको प्राकृतिक विपत्ति निरन्तर छ । लगातारको प्राकृतिक विपत्तिले तीन हजार सात सय ९६ जनाको मृत्यु भइसकेको छ भने १९ सय ८८ परिवार प्रभावित बनेका छन् । यसरी बर्सेनि विपद्‌को चपेटा परिरहने सिन्धुपाल्चोकमा विपद् रोक्न तथा न्यूनीकरणमा सरकारले विगतको घटनाबाट पाठ सिक्न सकेको छैन ।

हेर्नुहोस् कमला पाख्रिनका थप स्टोरी ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।