सुनसरीको अवस्था सामान्य बन्दै, प्रशासनद्वारा सर्वदलीय बैठक आह्वान

परिस्थिति नियन्त्रण बाहिर जान नदिन कर्फ्यु आज पनि जारी
चैत्र २४, २०८० |अर्जुन सुवेदी
सुनसरीको अवस्था सामान्य बन्दै, प्रशासनद्वारा सर्वदलीय बैठक आह्वान

सुनसरी। सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिका क्षेत्रमा दुई समूहबीच भएको झडपपछि उत्पन्न भएको अवस्था सामान्य बन्दै गएको छ । दुई समूहबीचमा हिजो बिहानैदेखि ठाउँ-ठाउँमा झडप भएपछि जिल्ला प्रशासनले हिजो साँझबाट सुनसरीका ५ वटा पालिकाहरूमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेको थियो ।

कर्फ्युपछि सुनसरीको अवस्था सामान्य बन्दै गएको सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिए । हिजो साँझसम्म प्रदर्शन भए पनि बिहानैबाट अवस्था सामान्य बन्दै गएको उनले बताए । परिस्थिति नियन्त्रण भन्दा बाहिर जान नदिन कर्फ्यु भने जारी राखिएको उनले बताए ।

समस्या समाधानको लागि अहिले साढे १० बजे सर्वदलीय बैठक आह्वान गरिएको फुयाँलले बताए । बिहीबार एक जना युवामाथि कुटपिट भएपछि दुई समुदायबीचमा भएको झडपले ठूलो रूप लिएपछि अवस्था तनाबग्रस्त बनेको थियो । यसैबीच सुनसरीका राजनीतिक दल तथा विभिन्न संघ संगठनले सार्वजनिक अपिल जारी गर्दै सद्भाव कायम गर्न आग्रह गरेका छन् । उनीहरूले अपिल जारी गर्दै द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने भन्दै चिन्ता प्रकट गरेका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेकाले दोषी उपर कारबाही हुने भन्दै सबैलाई शान्त रहन उनीहरूले आग्रह गरेका छन् ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।