हावाहुरीले पाल्पाका विभिन्न स्थानमा विद्युत् अवरुद्ध

चैत्र १८, २०८० |माधव अर्याल
हावाहुरीले पाल्पाका विभिन्न स्थानमा विद्युत् अवरुद्ध
पाल्पाको पश्चिम क्षेत्रमा वितरण भएको विद्युत्‌को रिब्दीकोट गाउँपालिका ५, कुसुमखोलामा चुँडिएको तार । तस्बिर : कान्तिपुर

पाल्पा । शनिबार बेलुकीको हावाहुरीले पाल्पाका विभिन्न स्थानमा विद्युत् सेवा रोकिएको छ । चौबीस घण्टादेखि विद्युत् अवरुद्ध भएपछि स्थानीय उपभोक्ता आक्रोशित भएका छन् ।

माथागढी गाउँपालिका ३, कसेनीका नारायणप्रसाद अधिकारीले चौबीस घण्टादेखि विद्युत् अवरुद्ध हुँदा अनेकन समस्या भोग्नुपरेको जनाए । उनले भने, ‘यति लामो समयसम्म विद्युत् अवरुद्ध गर्ने विद्युत् प्राधिकरलाई फूलमाला लगाएर स्वागत गर्नुपर्ने हो वा के हो ?’

विद्युत् अनियमित हुँदा जिल्लामा ठूला उद्योगधन्दा नभए पनि एफएम, डेरी, मासु उद्योग, पत्रपत्रिका प्रकाशनमा समस्या देखिएको छ । तानसेन नगरपालिका ८, मदनपोखराकी नारी प्याड सञ्चालक उमा अर्यालले दिनभर कारखाना बन्द गर्नुपरेको गुनासो गरिन् । मोबाइलका बीटीएस टावर, प्रहरीका रेडियो सेट विद्युत्‌कै कारण समस्यामा परेको स्थानीयको भनाइ छ । कम्प्युटर इन्स्टिच्युट, व्यवसायीलाई पनि विद्युत् आपूर्ति नहुँदा समस्या भएको छ ।

प्राधिकरणको पाल्पा वितरण केन्द्रका अनुसार जिल्लाका दर्जन बढी स्थानमा विद्युत् पोल ढलेको, तार चुँडिएको, विद्युतीय संरचनामै धेरै क्षति भएकाले आपूर्ति नभएको जनाएको छ । कार्यालय प्रमुख दिलीप मरासिनीले शनिबारको हावाहुरीले विद्युतीय संरचनामा क्षति पुगेकाले नियमित गर्न समस्या भएको जानकारी दिए ।

उनका अनुसार पाल्पा-बुटवल ३३ केभी लाइनमा चार स्थानमा पोल भाँचिएका छन् । दुई ठाउँमा तार चुँडिएको प्राधिकरण पाल्पा वितरण केन्द्रले जनाएको छ । रुप्से चर्चरे ३३ केभीमा ६ स्थानमा पोल ढलेको छ । सिलुवा ३३ केभीमा दुई स्थानमा पोल ढलेको छ । ११ केभीको ७ स्थानमा पोल ढलेको छ । पाल्पा वितरण केन्द्रका अनुसार दुई थान २५ केभीए टीआरएन जलेको छ । ३५ थान एलटी काठको पोल भाँचिएको प्रमुख मरासिनीले जानकारी दिए ।

एलटी र टीआरएनको काम सकिएपछि मात्र विद्युत् नियमित हुने उनको भनाइ छ । बुटवलदेखि डुम्रेसम्म विद्युत् नियमित रहे पनि अन्यत्र क्षेत्रमा विद्युत् आपूर्ति छैन । सदरमुकाम तानसेनमा स्याङ्जाको बीपीसी र गुल्मीको रुरु क्षेत्रबाट विद्युत् लाइन सञ्चालन गर्नसमेत समस्या भएको प्राधिकरणले जनाएको छ । पाल्पा वितरण केन्द्रले अधिकांश स्थानमा काम सकिएको र छिटै विद्युत् सञ्चालन हुने आश्वासन दिएको छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।