प्युठान । तपाईं एक गाग्री पानी भर्न कति समय हिँड्नुहुन्छ ? सहरबजारका अधिकांशको घरमा पानीको सहज व्यवस्था होला । गाउँघरमा पनि कति ठाउँमा घरमा धारा या नजिकैको पँधेरोमा पानीको सहज व्यवस्था होला । तर प्युठानको मल्लरानी गाउँपालिका २ का आधा दर्जन गाउँका बासिन्दालाई भने अहिले पनि पानी भर्नकै लागि हरेक दिन एक घण्टाभन्दा बढी समय खर्चनुपर्छ ।
मल्लरानी गाउँपालिका २, खजुरेकी कुवारी नेपाली ३६ वर्षअघि विवाह गरी यो गाउँ आएकी हुन् । विवाह गरेर आउँदाको समयदेखि उनलाई अहिलेसम्म पानीकै पिरलो छ । गाउँमा खानेपानीको सहज व्यवस्था नहुँदा टाढाको पधेंरोमा पुगेर पानीको जोहो गर्नुपर्ने बाध्यता अहिलेसम्म हटेको छैन । छोरीबाट बुहारी त्यसपछि आमा हुँदै अहिले घरमा नातिनातिनाकी हजुरआमासम्म भइसकेकी उनको एक घण्टा टाढाको पधेंरोबाट पानी ल्याउनुपर्ने बाध्यता हटेको छैन ।
गाउँमा पानीको सहज व्यवस्था नहुँदा मल्लरानी गाउँपालिका २ का खजुरेचुदरीखोला, सारारा, हमालडाँडालगायत बस्तीका बासिन्दाले घण्टौं लगाएर पानीको जोहो गर्दै आएका छन् । उच्च भू-भागमा रहेका यी बस्तीनजिकै पानीका मुहान छैनन् । जसले दैनिक एक गाग्रो पानी भर्न आधादेखि डेढ घण्टासम्म टाढा पुगेर पानी ल्याउनुपर्ने बाध्यता छ । यस क्षेत्रका एक सय घरधुरी अहिले पनि दैनिक पिउने पानी भर्न कुवा, खोल्सी, तथा पधेंरामा जान बाध्य छन् ।
सिंगो गाउँले नै पिउने पानीको समस्या झेलिरहँदा स्थानीय बासिन्दा भने निर्वाचनका समयमा जनप्रतिनिधिले बाँडेका आश्वासनले चिढिएका छन् । निर्वाचनताका घरघर पानीको धारा ल्याइदिने बताएका जनप्रतिनिधि त्यसयता भने गाउँमा फर्किएका समेत छैनन् । गाउँमा पानी आउला र भरपूर उपभोग गर्न पाइएला भन्ने स्थानीयको आशा पानीको तिर्खा झैं पटक-पटक लागिरहन्छ । तर आशा वर्षौंदेखि आशामै रहेको प्युठानका विकास विष्ट बताउँछन् । विद्यालय अध्ययन गर्ने बालबालिका पनि पानीकै समस्याले आफ्नो पढाइमा असर परेको बताउँछन् ।
पिउनेपानीकै लागि वर्षौंदेखि घण्टौं हिँडेर पानी भर्दै आएका यस क्षेत्रका बासिन्दालाई गर्मीयाम सुरु भएपछि झनै समस्या हुने गरेको छ । अहिले पानी भर्दै आइरहेको कुवा र धारा चैत, वैशाखमा सुक्दा उनीहरु अझै टाढाबाट पानी ल्याउनुपर्ने हुन्छ । जसले गर्दा उनीहरुको दैनिकी एक गाग्रो पानीकै संघर्षमै बित्ने गरेको छ ।