जुवामा आफैं नारिँदै सडक जोतेर मोही किसानले गरे विरोध प्रदर्शन

फाल्गुन १७, २०८० |अमर क्षितिज भण्डारी
जुवामा आफैं नारिँदै सडक जोतेर मोही किसानले गरे विरोध प्रदर्शन

दाङ । फागुन ८ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका दाङका गुठीपीडित मोही किसानले आज सडक जोतेर विरोध गरेका छन् । गोरुजस्तै गरी हलो जुवाँमा नारिएर स्वर्गद्वारी गुठीका मोही किसानले सरकारको ध्यानाकर्षण गराउन पीच सडक जोतेर विरोध गरेका हुन् ।

सरकारले गुठी विधेयक संसदमा दर्ता नगर्दासम्म आन्दोलन नरोक्ने बताएका किसानहरुले फागुन ८ गतेदेखि विभिन्न प्रकारका विरोध आन्दोलन गर्दै आएका छन् । जिल्लाभरबाट सदरमुकाम घोराहीमा भेला भएका सयौं गुठी पीडित मोही किसानले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् भने पाल टाँगेर रातभर बस्ने गरेका छन् ।

प्युठानमा रहेको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी मन्दिरको दाङमा रहेको १ हजार ५७ बिगाह जग्गामध्ये ७ सय ७६ बिगाहा जग्गामा २ सय ८९ जना किसानको मोही रहेको छ । सर्वोच्च अदालतले २०६४ साल चैत्र १४ गते स्वर्गद्वारी गुठी निजी गुठी भएको भन्दै आश्रमको जग्गा खण्डीकरण नगर्न/नगराउन परमाआदेश जारी गरे पनि किसानहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।