काठमाडौं उपत्यकामा बढे आपराधिक घटना

फाल्गुन १३, २०८० |कान्तिपुर टीभी संवाददाता
काठमाडौं उपत्यकामा बढे आपराधिक घटना

काठमाडौं । काठमाडौं उपत्यकामा चोरी, डकैती र ठगीलगायतका आपराधिक घटना बढेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले चोरी, डकैती र डलर साट्ने भन्दै ठगी गर्ने गिरोहलाई एक साथ पक्राउ गरेपछि काठमाडौं उपत्यकामा यस्ता अपराध बढेको तथ्य सार्वजनिक भएको हो ।

 गत फागुनमा फुटबल खेलाडी मनीष डाँगीको ललितपुर महाँकालस्थित घरबाट ४५ लाख रुपैयाँ बराबरको चोरी भएको थियो । दिउँसोको समयमा घरभित्र प्रवेश गरेका २ जनाले डाँगीको घरबाट नगद र सुनका गहना लगेका हुन् । घटनामा संलग्न रहेको आरोपमा अनुपम तामाङ र रविन तामाङ पक्राउ परेका छन् । 

उनीहरू सीसी क्यामेरामा कैद भएको दृश्यका आधारमा पक्राउ परेको प्रहरीले जनाएको छ । त्यस्तै, सस्तोमा डलर साट्ने भन्दै ठगी गर्ने दम्पती पनि पक्राउ परेका छन् । यस्तै एक वर्षयता काठमाडौं उपत्यकाभित्र डलर साट्ने भन्दै ठगी भएका १७ घटनामध्ये अधिकांशमा सिन्धुपाल्चोकका रामबहादुर तामाङ संलग्न रहेको प्रहरीले जनाएको छ । 

श्रीमतीलाई निगरानी गर्न लगाउने र व्यक्तिलाई फोन गरेर सस्तोमा डलर दिने भन्दै माथि १ डलर र भित्र कागज राखेर दिने गरेका थिए । उनीहरूले एकै  व्यक्तिबाट १७ लाख रुपैयाँसम्म लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

त्यस्तै, काठमाडौं उपत्यकामा दिउँसै लुटपाट गर्ने समूह पनि सक्रिय देखिएको छ । गत माघमा टोखामा ६ जनाको समूहले रसुवाका क्रासाङ लामा र फुरसाङगे लामाको १ करोडभन्दा बढी मूल्यका सुनका गहना र नगद लुटेको थियो । दिउँसै हतियार देखाएर लुटपाट गर्नेमा ६ जना संलग्न थिए । प्रहरीले पक्राउ गरेका आरोपीको साथबाट १९ लाख नगद बरामद भएको थियो । 

उपत्यकाभित्र दिउँसोको समयमा हुने चोरी र लुटपाटका घटना बढेको प्रहरी तथ्यांक छ । गत वर्ष ८२ चोरी र ४१ लुटपाट भएकोमा यस वर्ष गत साउनयता मात्रै १ सय १२ चोरीका घटना भएको प्रहरीले जनाएको छ । विशेष गरेर दिउँसोको समयमा अपरिचित व्यक्ति प्रवेश गर्दा पनि घरमा रहेका कसैले सोधखोज नगर्दा चोरी र लुटपाटका घटना बढेको प्रहरीको विश्लेषण छ । 

दिउँसोको समयमा हुने घटना नियन्त्रण गर्न छिमेकमा रहेकाहरूले पनि नौलो व्यक्तिमाथि निगरानी राख्नु पर्ने र व्यक्ति स्वयं सचेत भए डलर साट्ने नाममा हुने ठगी पनि रोकिने प्रहरीको सुझाव छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.