स्थायी केन्द्रको विषयलाई लिएर सुनकोशी गाउँपालिकामा ३ दिनदेखि तालाबन्दी

फाल्गुन ४, २०८० |कमला पाख्रिन
स्थायी केन्द्रको विषयलाई लिएर सुनकोशी गाउँपालिकामा ३ दिनदेखि तालाबन्दी

सिन्धुपाल्चोक । स्थायी केन्द्रको विषयलाई लिएर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा तीन दिनदेखि तालाबन्दी गरिँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । 

सुनकोशी गाउँपालिका स्थायी केन्द्र भवन संघर्ष समितिको नामबाट पालिकाको केन्द्र सुनकोशी-५ सुनखानीमा हुनु पर्ने भन्दै संघर्ष समितिको नामबाट तालाबन्दी गरिएको हो ।फागुन १ गतेदेखि गरिएको तालाबन्दी तेस्रो दिनसम्म पनि जारी छ । 

सुनकोशी गाउँपालिकाको माघ २९ गते बसेको १४ औ बैठकले गाउँपालिकाको प्रशासनिक भवन सुनकोशी गाउँपालिका-३ कालिकाको देविथान डाँडामा बनाउनका लागि गाउँ सभामा पेस गर्ने बहुमतबाट निर्णय भएको थियो । तर सुनकोशी गाउँपालिकाको मध्यभाग सुनकोशी-५ सुनखानीमा हुने भन्दै स्थानीयवासीले लामो समयदेखि सुनखानीमा नै प्रशासनिक भवन बनाउनका लागि दबाब दिँदै आएका थिए ।

प्रशासनिक भवनका लागि यस अघि केन्द्र तोके पनि जग्गा अभावमा भवन निर्माण भएको थिएन ।  ‘हामीले भवन निर्माणका लागि सुरुमा जग्गा माग गरेका थियौ,’ अध्यक्ष टपेन्द्र तिमिल्सिनाले भने ।

गाउँपालिकाले प्रशासनिक भवनका लागि नेपाल सरकारको मन्त्रिपरिषद्‍बाट स्वीकृत मापदण्ड अनुसार निःशुल्क जग्गा उपलब्ध गराउनका लागि सार्वजनिक सूचना जारी गरेको थियो । ३५ दिन भित्र सुनकोशी-३,४,५ र ७ नम्बर वडाबाट मापदण्ड अनुसारको जग्गा प्राप्ति भएको अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।

हामीले ६ रोपनी जग्गा माग गरेका थियौँ, चार स्थानबाट जग्गा प्राप्त भएपछि कार्यपालिकाको बैठकमा पेस गरेर आवश्यक प्रक्रिया सुरु भएको थियो । 

कार्यपालिकाको बैठकमा उपस्थित भएका १५ मध्ये ११ सदस्य सुनकोशी-३ कालिकाको पक्षमा उभिएका थिए भने गाउँपालिका उपाध्यक्षसहित वडा नम्बर ४ र ५ का वडा अध्यक्ष सहित चार जना सुनखानीको पक्षमा उभिएपछि बहुमतले सुनकोशी-३ मा पालिकाको केन्द्र बनाउनका लागि गाउँ सभामा पेस गर्ने निर्णय भएपछि त्यसको विरुद्ध स्थानीय संघर्ष समितिले तिन दिनदेखि पालिकामा तालाबन्दी गरेर निरन्तर आन्दोलन गरिरहेका छन् ।

सुनकोशी गाउँपालिका स्थायी केन्द्र भवन संघर्ष समितिले भने सुनकोशी गाउँपालिकाको सातै वडाको केन्द्रभाग सुनखानीमा नै पर्ने भएकाले त्यही नै प्रशासनिक भवन बनाउनु पर्ने माग राख्दै  आएको संघर्ष समितिका संयोजक छिरिङ लामाले बताए ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।