दुर्घटना अपडेट : ‘ओभरलोड’ ले १० जनाको ज्यान गुम्यो, १७ घाइते

फाल्गुन १, २०८० |माधव अर्याल
दुर्घटना अपडेट : ‘ओभरलोड’ ले १० जनाको ज्यान गुम्यो, १७ घाइते

पाल्पा । ‘ओभरलोड’ यात्रु बोकेको जिप दुर्घटना हुँदा पाल्पामा मंगलबार १० जनाको मृत्यु भएको छ । जिपमा चढेका दुईमहिने बालिकासहित १७ जना घाइते भएका छन् ।

तिनाउ गाउँपालिका ६, मस्यामको शिखरडाँडा जाँदै गरेको जिप चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो । घटनास्थलमै आठजना र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनास्थलमा मृत्यु भएकामध्ये ६ जनाको पहिचान खुलेको छ भने दुई जनाको पहिचान खुलेको छैन । पहिचान खुलेका मृतकमा तिनाउ गाउँपालिका ६, मस्यामकी ६० वर्षीया यमकुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्ण बहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका १४ का चन्द्र रणपाल, उनकै श्रीमती ६० वर्षीय चुना रणपाल रहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार थप दुई जनाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ । उपचारका क्रममा तिनाउ गाउँपालिका २, खुर्सानेका २० वर्षीय गीता सुनार र रिब्दीकोट गाउँपालिका १, ख्याहाकी ६६ वर्षीय विष्णुकला कामीको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार चापागाईका अनुसार राति अबेर भएकाले आफन्त आउन ढिलाइ भएकाले पहिचान खुलेको छैन । सिद्धार्थ राजमार्गको डुम्रेबाट शिखरडाँडा जाँदै गरेको लु .१ज २३७१ नम्बरको जिप चिदिस लुम्पेकडाँडा घुम्ती सडकमा दुर्घटनामा परेको हो ।

कच्ची, उकालो र घुम्ती सडकमा जिप दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख चापागाईले जनाए । घाइतेहरु महिला १०, बालक ४, बालिका ३, दुई पुरुष रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३६ दिनको बालकसहित १७ जनाको उपचार भइरहेको लुम्बिनी मेडिकल कलेज प्रभासका कम्पनी सचिव कृष्ण पराजुलीले जानकारी दिए ।

चालक तानसेन नगरपालिका १० का दानबहादुर चिदीका अनुसार घुम्तीमा केही आवाज आएको र जिप पछाडि गुडेपछि भिरबाट तल खसेको हो । दुर्घटनाग्रस्त जिप घुम्तीदेखि झन्डै १५० मिटर तल सोही सडकको तल्लो भागमा खसेको उद्धारमा खटिएका स्थानीय दिनेश घिमिरेले जानकारी दिए । ‘धेरै यात्रु भएकाले घुम्तीमा जिप नमोडिएको हुनसक्छ,’ उनले भने ।

बेलुकी भइसकेको र भिरमा घाइते अड्किएकाले उद्धारमा केही कठिनाइ भए पनि समयमै अस्पताल पुर्याउन सकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिए । मृत्यु तथा घाइते हुनेहरु अधिकांश स्थानीय मस्यामको चिदिस र शिखरडाँडा गाउँका छन् । घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेहरुलाई तत्काल लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएका थिए ।

कच्ची सडकमा अधिकांश यात्रुवाहक जिपले ‘ओभरलोड’ यात्रु बोक्ने समस्या छ । श्रीनगर यातायात व्यवसायी कम्पनी प्रालिका कार्यालय प्रमुख भविन्द्र गौतमका अनुसार १३ सिट पास हुने जिपले क्षमताभन्दा बढी यात्रु बोकेको स्वीकारे । उनले यसअघि पनि यही जिपलाई अनुगमनमा पुग्दा ‘ओभरलोड’ बोकेको भेटाएर सचेत गराएको बताए । जिपको १३ सिटको बिमा हुने र अन्यको थप लाग्ने खर्च भने समिति र सवारीधनीले बेहोर्नुपर्ने हुन्छ ।

‘हामीले पटक-पटक सवारीधनी र चालकलाई अधिक यात्रु नराख्न चेतावनी दिँदै आएका छौं,’ उनले भने, ‘पक्कीभन्दा पनि कच्ची सडकमा अधिक यात्रु बोक्ने समस्या छ ।’ सिट पासबाहेक अन्य यात्रुको समिति जवाफदेही हुने ट्राफिक प्रहरी प्रमुख चापागाईले बताए । दुर्घटनाको प्रहरी कार्यालयले अदालतमा मुद्दा चलाउने र केही दिनमा चालक छुट्ने गर्छन् । कारबाही पनि नहुने समस्या छ । 


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।