विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच हानाहान, बन्यो ३ सदस्यीय छानबिन समिति

माघ १२, २०८० |रमेश धमला
विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच हानाहान, बन्यो ३ सदस्यीय छानबिन समिति

काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धित देशको मात्रै नभएर अन्तरदेशीय सुरक्षाको समेत गम्भीर चासो भएको स्थान हो । तर त्यही अन्तर्राष्ट्रिय नाकामा खटिने सरकारी निकायबीच सौहार्द वातावरण छैन ।

नेपालबाट बाहिरिनेको प्रहरीले सुरक्षा जाँच गर्दै आएको छ । विमानस्थलभित्र खटिएका कर्मचारी पनि त्यही घेरामा हुन्छन् । त्यही विषयमा अध्यागमन कर्मचारी र प्रहरीबीच पटक-पटक विवाद हुँदै आएको छ । आज त विमानस्थल अध्यागमनको अवस्था झन् असहज देखियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार मध्याह्न नेपाल प्रवेश गर्ने र बाहिरिनेको भिड थियो । नेपालबाट प्रस्थानविन्दुमा अध्यागमनका अधिकृतहरु यात्रुको कागजात जाँच गर्दै थिए । अध्यागमनको काम सकिएपछि प्रहरीले अन्तिमपटक सुरक्षा जाँच गर्छ ।

करिब १२:५ बजे अध्यागमन अधिकृत रातो ज्याकेट लगाएका छाया मोक्तान प्रहरीको सुरक्षा जाँच पास हुँदै यात्रुको प्रतीक्षालयतिर गए । जहाँ यात्रुसँगको सम्पर्कमा जाने कर्मचारीको पनि प्रहरीले सुरक्षा जाँच गर्दै आएको छ ।

मोक्तानलाई पनि जाँचमा खटिएका प्रहरी जवान रविरञ्जित गुप्ताले जाँच गर्न खोजे । सुरक्षामा खटिएका अर्का एक प्रहरी अधिकृतका अनुसार मोक्तानले जवान गुप्तालाई शरीर खानतलासी गर्ने हैसियत नभएको भन्दै गाली गर्न थाले । मोक्तानले जाँचमा खटिएका प्रहरी जवान गुप्तासँग विवाद गरेको सीसी क्यामेरा दृष्यमा देखिन्छ ।

अधिकार क्षेत्रबारे आरोप-प्रत्यारोप

प्रहरी जवानसँग अधिकृत मोक्तानले विवाद गरेको देखेपछि अन्य प्रहरी पनि त्यही आइपुग्छन् । सबैसँग मोक्तानको विवाद हुन्छ । त्यही क्रममा मोक्तानले प्रहरी जवानमाथि लात्ताले हानेको पनि सीसी क्यामेरा दृष्यमा देखिएको छ ।

त्यही क्रममा एक प्रहरीले मोक्तानलाई पनि धकेलेका छन् । विवाद चर्किएपछि सबै प्रहरीको एक समूह आएर मोक्तानलाई नियन्त्रणमा लिएर लैजान्छ ।

प्रहरी जवानले आफूमाथि हातपात गरेको मोक्तानको आरोप छ । विवाद चर्किएपछि अध्यागमन कार्यालय प्रमुख गोगन हमालसहितका कर्मचारीहरु प्रहरीको सीसी क्यामेरा कोठामा गए । जहाँ अध्यागमनका कर्मचारी निकै चर्को विवादमा देखिन्छन् ।

प्रहरीका अनुसार सीसी क्यामेरामा दृष्य हेरेपछि अध्यागमन कर्मचारी आक्रोशित भए । विमानस्थलकै अर्का एक प्रहरी अधिकृतका अनुसार सीसी क्यामेरा कोठामा पनि अध्यागमनका कर्मचारी र प्रहरीबीच चर्को विवाद भएको थियो । जसमा अध्यागमन प्रमुख हमाल स्वयं आफैं निकै आक्रोशित देखिन्छन् ।

सीसी क्यामेरामा खटिएका प्रहरी नायब निरीक्षक प्रकाश चौधरीमाथि दुर्व्यवहार हुँदा सीसी क्यामेरा राख्ने तीनवटा स्ट्यान्डमा क्षति पुगेको छ । विवाद समाधानका लागि अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ पनि विमानस्थल गए । केहीबेर विमानस्थलको कामै प्रभावित भयो ।

‘छानबिन समिति गठन गरेका छौं । दुई निकायबीच बुझाइमा समस्या भएको हो,’ महानिर्देशक तामाङले कान्तिपुर टेलिभिजनसँग भने ।

त्यसो त प्रहरी र अध्यागमन अधिकृतबीच यति विवाद आउनुको पछाडि प्रहरीले चलाएको कारबाही नै जोडिएको छ । भिजिट भिसाका नाममा विदेश जानेहरुलाई साथ दिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यागमनका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर कारबाही चलाइरहेको छ ।

दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । खड्काको साथबाट विदेश पठाउने ५६ जनाको सूची बरामद भएको थियो । त्यसपछि पनि अध्यागमन कर्मचारीले आफूहरुमाथि हस्तक्षेप भएको भन्दै कामै ठप्प पारेका थिए ।

विमानस्थलमा खटिएका अध्यागमन कर्मचारी र प्रहरी दुवै गृह मन्त्रालय मातहतका संयन्त्रहरु हुन् । तर अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील ठाउँमा खटिएका राज्य संयन्त्रबीचै सुरक्षा मापदण्ड पालनाकै लागि यति धेरै विवाद हुनु स्वभाविक छैन । राष्ट्रिय सुरक्षा र छविमाथि नै प्रश्न उठ्नेछ ।

थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति

यसैबीच घटनाबारे छानबिन गर्न थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । सदस्यमा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला छन् ।

यसैगरी समितिको सदस्यसचिवमा गृह मन्त्रालयका उपसचिव कुलबहादुर जीसीलाई राखिएको छ । गौतम संयोजकत्वको यो समितिले सोमबारसम्म रिपोर्ट बुझाउनेछ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement