शुक्रबारदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने, ३५ प्रतिशतसम्म उडान कटौती

कार्तिक २०, २०८१ |सुमन पन्थ
शुक्रबारदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने, ३५ प्रतिशतसम्म उडान कटौती

काठमाडौं । धावनमार्ग बिस्तारका लागि त्रिभुवन विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने भएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ३५ प्रतिशतसम्म कटौती हुने भएका छन् । यही बहानामा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकले हवाई टिकटमा सरदर ५० प्रतिशतसम्म मूल्य बढाएका छन् । 

विमानस्थलभित्र रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गर्न यही कात्तिक २३ देखि चैत १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो । यही कात्तिक २३ देखि चैत १८ गतेसम्म त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द गरिँदैछ । राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द गरिने छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय र आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरुलाई १० घण्टा उडान बन्द हुने जानकारी दिँदै विकल्पमा भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा प्रवाह गर्न आग्रह गरेको छ ।

१० घण्टासम्म विमानस्थल बन्द हुँदा काठमाडौंबाट हुने ३० प्रतिशत अन्तर्राष्ट्रिय र ३५ प्रतिशत आन्तरिक उडान तथा अवतरण कटौती हुँदैछन् । विमानस्थलबाट दैनिक सय वटा अन्तर्राष्ट्रिय र साढे तीन सय आन्तरिक उडान हुँदै आएका छन् । एशियाली विकास बैंकको १५ अर्बभन्दा बढी ऋण सहयोगमा विमानस्थलको क्षमता अभिवृद्धि हुन लागेको छ । 

यो निर्माणपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको धावनमार्गको क्षमता २५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ, जुन हिउँदमा सम्पन्न गरिसक्ने प्राधिकरणको योजना छ । तर, १० घण्टा विमानस्थल बन्द हुँदा उडान तथा अवतरण कटौतीका साथै अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायकहरुले टिकटमा ५० प्रतिशतसम्म मूल्यवृद्धि गरेका छन् । 


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement