सर्लाही । सर्लाहीको बरहथवा घटनामा आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने सहमतिपछि प्रदर्शनका कार्यक्रम स्थगित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय-सर्वपक्षीय छलफलमा आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने सहमति जुटेको हो । यससँगै पीडित परिवार र प्रदर्शनकारी गत शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव उठाउन सहमत भएका हुन् । शव उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिँदै छ ।
सर्वपक्षीय छलफलमा बरहथवास्थित नगर अस्पताल मधेश सरकारलाई हस्तान्तरण गर्ने, स्तरोन्नति गरेर ५० शय्याको बनाउने, अस्पताललाई प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नाममा नामकरण गर्ने र नगरपालिकाले मृतकका परिवारलाई रोजगारी दिने सहमति भएको छ ।
प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, प्रदेश तथा जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रतिनिधि, आन्दोलनरत पक्षका नेता र पीडित पक्षबीच सहमति भएको हो ।
प्रदेशसभा सदस्य कौशलकिशोर रायले दुई पक्षबीच सहमतिपछि आजै पोस्टमार्टम गर्ने र शव परिवारलाई हस्तान्तरण गरिने जानकारी दिए । नगर प्रमुख कटुवालले अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय उल्ट्याउन कार्यपालिकाको बैठक बोलाएको विरोधमा शुक्रबार प्रदर्शन हुँदा प्रहरीको गोली लागेर बरहथवा नगरपालिका- ६ का ३० वर्षीय साहको मृत्यु भएको थियो । त्यसपछि झनै आक्रोशित प्रदर्शनकारीले साहको शव सडकमै राखेर प्रदर्शन थालेका थिए ।
शनिबार दिनभर प्रदर्शन रोक्ने प्रशासनको प्रयास असफल भएको थियो । शुक्रबार बेलुका कर्फ्यु लगाएको प्रशासनले शनिबार खुला गरे पनि आज प्रदर्शन चर्किएपछि पुन: कर्फ्यु लगाइएको थियो । घटनाबारे छानबिन गर्न संघीय सरकारले ३ सदस्यीय छानबिन समिति बनाएको छ भने मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
यस्तै, प्रदेश सरकारले पनि मृतकका परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।