रामायण सर्किटमाथि दिल्लीमा चर्चा

पुस ४, २०८० |राजेश मिश्र
रामायण सर्किटमाथि दिल्लीमा चर्चा

नयाँदिल्ली । नेपाल र भारत दुवै देशका नागरिक तहबीच रामायण सर्किटको आवश्यकता र महत्त्वमाथि नयाँदिल्लीमा चर्चा भएको छ ।

दुवै तर्फका सरोकारवालाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ल्याएको रामायण सर्किटको योजनाले एतिहासिक र धार्मिक महत्त्वसँगै नागरिकको आर्थिक विकासमा पनि लाभ पुर्‍याउने भनेका छन् ।

जनकपुर उपमहानगका मेयर मनोजकुमार साहले रामायण सर्किट निर्माणको चर्चाले सीताको नगरी जनकपुरमा पनि उत्साह छाएको बताए । उनले उक्त सर्किट योजनामा जनकपुरसहित १५ कोसको परिक्रमा क्षेत्रका महत्त्वपूर्ण स्थानहरुको विकासमा जोड दिएका थिए । उनले रामायण सर्किट निर्माणका लागि जनकपुरका तर्फबाट हरसम्भव सहयोग गर्न जनकपुरवासी र नगरपालिका तयार रहेको उल्लेख गरे ।

रामायण सर्किट मोदी सरकारको महत्त्वकांक्षी योजना हो । अयोध्यामा राम मन्दिरको निर्माण प्रारम्भसँगै मोदीले रामायण सर्किट योजनामा जोड दिँदै आएका छन् । धार्मिक ग्रन्थ रामायणका अनुसार भगवान राम जहाँ जहाँ पुगेका थिए ती सबै क्षेत्रलाई जोड्ने योजना मोदीले सारेका हुन् । उक्त योजनाले नेपालका पनि विभिन्न क्षेत्रहरुलाई जोड्नेछ ।

दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले रामायण सर्किटले सांस्कृति सम्बन्धलाई मात्रै जोड्ने नभई पर्यटकहरुको संख्या पनि बढाउने र त्यसले आर्थिक गतिविधि बढाउने धारणा राखे । उनले जनकपुर भ्रमणका क्रममा प्रधामन्त्री मोदीले जनकपुर क्षेत्रको विकासका लागि एक अर्ब रुपैयाँ प्रदान गर्ने घोषणा गरेको र त्यसको प्रस्ताव तयार हुने क्रममा रहेको उल्लेख गरे ।

राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) का सह-प्रचारक नरेन्द्र ठाकुरले भारत र नेपालको सम्बन्धलाई राम सीता र बुद्धले धेरै कसिलो बनाएको धारणा राखे । उनले फिल्म, कला, संगीत क्षेत्रले पनि दुई देशलाई जोडिराख्न योगदान गरेको चर्चा गर्दै दुई रामायण सर्किटको निर्माणले सम्बन्धलाई आगामी धेरै पुस्तासम्मका लागि कसिलो बनाउने विश्वास व्यक्त गरे ।

उनले राजनीतिक कारणहरुले दुई देशबीचको सम्बन्ध कहिले-काहीँ तलमाथि भए पनि दुईतिरका समाज जोडिएकै कारण सामाजिक र सांस्कृतिक सम्बन्धलाई कहिल्यै समस्या नपारेको उल्लेख गरे । विश्व हिन्दु परिषद्‌का राष्ट्रिय प्रवक्ता विनोद वंशलले रामायण सर्किटको निर्माणले रामायणको एक-एक प्रसंगलाई जीवन्त बनाउने बताए ।

नेपाली दूतावासको सहकार्यमा इन्क्रेडिबल चेम्बर अफ इन्डियाले रामायण सर्किटको आवश्यकता र यसको महत्त्वबारे अन्तर्क्रिया आयोजना गरेको थियो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक अर्थशास्त्री अच्युत वाग्लेले दुवै देशको आर्थिक विकासमा रामायण सर्किटले योगदान पुर्‍याउनसक्ने बताए । उनले यसको निर्माणले एकैसाथ अवध, मगध र मिथिला क्षेत्रको विकासमा टेवा पुग्ने उल्लेख गरे ।

त्रिभुवन विश्वविद्यालयका सहायक प्रध्यापक मञ्चला झाले र पत्रकार गोपाल झाले नेपालको पक्षबाट रामायण सर्किटको आवश्यकता र महत्त्वमाथि बोलेका थिए । त्यस्तै, पूर्वकूटनीतिज्ञ केभी राजन, भारतीय पत्रकार अतुल तारे, काशी पीठाधीश्वर दण्डी स्वामी आनन्तनन्द सरस्वतीले रामायण सर्किटको निर्माणले समाजलाई दिनसक्ने लाभमाथि प्रकाश पारेका थिए ।


Image

राजेश मिश्र

मिश्र कान्तिपुर टीभीका दिल्ली संवाददाता हुन् ।