काठमाडौं । रुस-युक्रेनबीच करिब दुई वर्षदेखि चलिरहेको युद्धले नेपाललाई पनि संवेदनशील बनाउने स्थितिमा पुर्याएको छ । युक्रेनसँगको युद्धमा रहेको रुसी सेनामा भर्नाका लागि भन्दै नेपालमा मानव तस्करीको डरलाग्दो सञ्जाल देखिएको हो । प्रहरी अनुसन्धानका क्रममा नेपालस्थित रुसी दूतावासकै कर्मचारीको संलग्नतामा गिरोहले नेपालीलाई रुसी सेनामा भर्नाका लागि पठाउने गरेको खुलेको छ । यता रुसी सेनामा भर्ना भएकाहरु भने जीवनरक्षाको याचना गरिहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले एक साता लगाएर गरेको कारबाहीमा रुसी सेनामा भर्ना गर्न पठाउने गिरोहका १३ जना पक्राउ परिसकेका छन् । युक्रेन-रुस युद्ध चलिरहँदा रुसी सेनाका लागि भन्दै पठाउने गिरोह नै सक्रिय रहेको देखिएको हो । प्रहरी स्रोतका अनुसार नेपालीलाई रुसी सेनामा पठाउन आवश्यक प्रक्रियाका लागि नेपालस्थित रुसी दूतावासकै कर्मचारीको संलग्नता रहेको खुलेको छ ।
विशेष रुपमा भइरहेको अनुसन्धानका क्रममा गिरोहका सदस्यमध्ये गोकर्ण अर्याल नेपालस्थित रुसी दूतावासका कर्मचारी निकोलस नाम गरेको व्यक्तिसँग सिधा सम्पर्कमा देखिएका छन् ।
अर्यालले निकालससँगको योजनामै रुस जान चाहानेका लागि १२ दिनभित्र भिसा तयार पार्ने गरेको खुलेको छ । सात लाख रुपैयाँ लिएर रुस पठाउने गिरोहको सञ्जाल देखिएकाले गम्भीर रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए ।
प्रलोभनमा परेर गत असोजमा पर्यटक भिसाबाटै रुस पुगेका एकजना पीडित कान्तिपुर टेलिभिजनको सम्पर्कमा आएका छन् । युद्धमा होम्न लगिएका रुसी कैदीहरुसँगै नेपालीलाई राखिएको छ । रुसी सेनाले युक्रेनी सेनामाथि ट्यांकबाट आक्रमण गरेपछि बाँकी रहेका कोही भए उनीहरुलाई सिध्याउने जिम्मेवारीसहित अग्रपंक्तिमा नेपालीलाई परिचालन गर्ने गरिएको हो । नेपालबाट सारजहा हुँदै मस्को पुर्याइएका ती पीडितले आफूहरु मृत्युको मुखमा रहेको बताउँछन् ।
गिरोहका माध्यमबाट पुगेका नेपाली अहिले पूर्ण रुपमा रुसी सेनाको नियन्त्रणमा छन् । नेपालबाट पठाइएकाहरुलाई मस्कोमा दुईजना भारतीय एजेन्टमार्फत सैनिक क्याम्पमा पुर्याइने गरेको खुलेको छ ।
एकातिर रुस पठाउने संगठित गिरोह सक्रिय देखिएका छन् भने त्यहाँ पुगिसकेका कति जना सेनामा भर्ना भएका छन् भन्ने एकिन तथ्यांक सरकारसँग छैन । आपराधिक समूहको योजनाअनुसार पुगेर रुसी सेनामा भर्ना गरिएकाहरुलाई स्वदेश फिर्ता ल्याउने विषयमा पनि सरकारले स्पष्ट पहल गर्न सकेको छैन । ‘नेपालस्थित रुसी राजदूतलाई परराष्ट्र मन्त्रालयमै बोलाएर आफ्ना कुराहरु राखिसकेका छौं,’ परराष्ट्रमन्त्री साउदले भने ।
नेपालले रुस भ्रमण गर्न तत्कालका लागि रोक लगाएपछि रुसी सेनामा भर्ना हुन खोज्नेहरु भारत तथा दुवईबाट पुग्ने गरेकाले समस्या भएको अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङको दाबी छ ।
सरकारले पर्यटन भिसामा रुस जान रोक लगाए पनि नेपालबाट दुबई तथा भारत हुँदै जानेहरु धेरै छन् । तेस्रो मुलुक हुँदै जोखिम मोलेरै रुस जान खोज्नेलाई तत्काल नियन्त्रणका लागि पहल गर्न नसके अवस्था गम्भीर बन्न सक्ने प्रहरीको बुझाइ छ ।