विपत्‌को भरोसा ‘स्वयंसेवा’

मंसिर १९, २०८० |सरोज वली|महेश केसी
विपत्‌को भरोसा ‘स्वयंसेवा’

रुकुम पश्चिम । आज डिसेम्बर ५ अर्थात् अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस । यो दिवसले स्वयंसेवामार्फत एकता र सकारात्मक परिवर्तन ल्याउने शक्तिसमेत प्रदान गर्छ ।

विश्वभरका स्वयंसेवकहरुका कामलाई पहिचान र प्रवर्द्धन गर्न दिवस मनाउने गरिएको हो । विशेषगरी विपत्‌का बेला स्वयंसेवाको स्वयं सेवाको भूमिका महत्त्वपूर्ण हुने गरेको छ ।

विश्वभरि बढ्दो असमानताले साझा समाधान खोज्न मिलेर काम गर्न आवश्यक छ भनी सन्देश अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसले दिने गरेको छ । स्वयंसेवा स्वेच्छिक हो । स्वयंसेवा भनेको सहयोग बाँड्नु, अरुको साथ दिनु हो ।

गत कात्तिक १७ गते गएको भूकम्पका कारण क्षतिग्रस्त बनेका जाजरकोट, रुकुम पश्चिम र सल्यानमा पुगेर स्वयंसेवा गरिरहेकाहरु यसका उदाहरण हुन् ।

स्वयंसेवा भनेको दिनु, बाँड्नु, अरुको साथमा उभिनु वा सहयोग गर्नु हो । यस वर्ष ‘मिलिजुली कदमको शक्तिमार्फत रुपान्तरण’ भन्ने नाराका साथ स्वयंसेवक दिवस मनाइएको हो ।

‘मान्छेहरुले रिक्वेस्ट गर्नुहुन्छ । उहाँहरुको पीडालाई देखेर मेरो मनले दिइहालौं, सहयोग गरिहालौं भन्ने भावना आउँछ,’ रुकुम पश्चिमका रक्तदाता मनीष खड्काले भने ।

स्वयंसेवा व्यक्तिगत मात्र नभएर संस्थागत पनि हुने गरेको छ । नेपालमा रेडक्रसजस्ता सामाजिक संस्था स्वयंसेवामा क्रियाशील छन् । स्वयंसेवामा कुनै लाभ-हानिसमेत हेरिँदैन ।

‘स्वयंसेवा गर्ने भावना मानिसमा कम देखिए पनि रेडक्रसमा चाहिँ हामी स्वयंसेवा गर्छौं । लाग्नुपर्छ, गर्नुपर्छ भन्ने जमातको कमी त छैन,’ नेपाल रेडक्रम सोसाइटी रुकुम पश्चिमकी सभापति रमा गौतमले भनिन्, ‘तर जति सोचिएको छ त्यति छैन ।’

स्वयंसेवामा आत्मसन्तुष्टि मिल्छ । समस्यामा परेकाहरुलाई सहयोग पुग्छ । अहिले भूकम्पबाट प्रभावित नागरिकको राहत र पुन:स्थापनाका लागि समेत स्वयंसेवकहरुको खाँचो छ ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।

Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।