रुसी सेनामा कार्यरत ३ नेपालीको मृत्यु

मंसिर १२, २०८० |कान्तिपुर टीभी संवाददाता
रुसी सेनामा कार्यरत ३ नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु भएको छ । मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा कार्यरत रहेको अवस्थामा तीन नेपालीको मत्यु भएको जानकारी रुसी सेनाले दिएको जनाएको हो ।

नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार-५ का प्रितम कार्की, दोलखाको मेलुङ-६ का राजकुमार रोक्का र इलाम-५ का गंगाराज मोक्तान छन् ।

दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङजाको पुतलीबजार-५ ठूलोस्वाँराका पितम कार्की, दोलखाको मेलुङ-६ सुनारपानी टोलका राजकुमार रोका र इलाम-५ इलामका गंगाराज मोक्तान छन् । उनीहरुको गत १५ नोभेम्बर (कात्तिक २९) गते मृत्यु भएको जानकारीसहित रुसी सेनाका अधिकारीबाट मृत्यु प्रमाणपत्रसमेत प्राप्त भइसकेको दूतावासले जनाएको छ ।

दूतावासले शवको यथाशीघ्र व्यवस्थापनका लागि मृतकका परिवारसँग सम्पर्क स्थापना गरिदिन आग्रह गर्दै कन्सुलर विभागलाई चार दिनअघि लेखेको पत्र आज सार्वजनिक भएको हो । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपाली मारिएको घटनाबारे रुसी सेनासँग विस्तृत सोधखोज भइरहेको जानकारी दिएका छन् ।

रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपाली पनि रहेको सूचना सार्वजनिक भइरहेका बेला तीन नेपाली मारिएको घटना सार्वजनिक भएको हो । रुस-युक्रेन युद्धमा रुसको पक्षबाट लड्न झन्डै २ सय नेपाली रहेको अनुमान गरिँदै आएको छ ।

उनीहरुको गत कात्तिक २९ गते तिहारको भाइटीकाका दिन एकैसाथ मृत्यु भए पनि परिवारले दुई सातापछि मात्रै खबर पाएका हुन् । स्याङजा सहकर्मीका अनुसार पितमकी दिदी कल्पना कार्की ढकालले तालिम लिने क्रममा हवाई आक्रमण हुँदा भाइको ज्यान गएको खबर आएको बताएकी छन् । नेपाली सेनाबाट निवृत्त ४० वर्षीय कार्की नेपाली सेनाका निवृत्त थिए । कार्कीका बुबा, आमा, श्रीमती र २ छोरा छन् ।

यस्तै, दोलखा सहकर्मीका अनुसार मेलुङका राजकुमार रोका २ महिनाअघि रोजगारीको सिलसिलामा रुस पुगेका थिए । रुसी सेनामा भर्ति भएर तालिम गरिरहेका बेला गत कात्तिक २९ गते उनको मृत्यु भएको खबर आएको परिवारले जनाएका छन् ।

केही वर्षअघिसम्म सशस्त्र प्रहरीमा कार्यरत उनले अवधि नपुग्दै राजीनामा दिएका थिए । त्यसयता राजधानीमा पसल गर्दै आएका उनी पनि २ महिनाअघि मात्रै रुसी सेनामा भर्ना हुन रुस पुगेका थिए ।

तालिम गर्ने क्रममा बंकरमा मृत्यु भएको खबर आएको त्रिभुवन मावि मेलुङका प्रधानाध्यापक सन्तोष श्रेष्ठले जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.