रोक्का जग्गा बैंक र मालपोतको मिलेमतोमा नामसारी

मंसिर ५, २०८० |देव राना|कमल पन्त
रोक्का जग्गा बैंक र मालपोतको मिलेमतोमा नामसारी

सुर्खेत । सुर्खेतमा अदालतले रोक्काको आदेश दिएको जग्गा बैंक र जिल्ला मालपोतका कर्मचारीहरुको मिलेमतोमा नामसारी गरेको आरोप जग्गाधनीले लगाएका छन् ।

सुर्खेतका व्यवसायी प्रकाश उप्रेती र उनकी पत्नी अर्चना उप्रेतीको नाममा रहेको ६ कित्ता जग्गा एनआईसी एसिया बैंक र मालपोत कार्यालय सुर्खेतका कर्मचारीले मिलेर देवीराम पौडेलको नाममा लिलाम गरी नामसारी गरेको आरोप लगाइएको हो ।

एनआईसी एसिया बैंकमा उप्रेतीद्वयको नाममा रहेको साबिक जर्बुटा गाविस वडा नम्बर १ क कित्ता नम्बर २०४० को क्षेत्रफल ०-०-१५ (बिघा) र सोही वडा १ ख कित्ता नम्बर ८३५, १८६५, १४०१, १८६६ र १८६३ को क्षेत्रफलहरु क्रमशः ०-१-१०-०, ०-०-८-१, ०-०-१६-१, ०-०-११-३ र ०-०-८-१ (बिघा) लाई सुर्खेत जिल्ला अदालतले २०७९ फागुन ५ गते रोक्का गर्नू भनी बैंकलाई आदेश दिएकामा बैंक र मालपोतका कर्मचारी मिलेर गत साउन २ गते बैंकबाट फुकुवा गराइ लिलामीमा देवीराम पौडेलका नाममा दाखिला गरेको जनाइएको छ ।

जग्गाधनी प्रकाश उप्रेतीले अदालतले रोक्का राख्नू भनी आदेश दिएको तर बैंक र मालपोतका कर्मचारीहरु मिलेर रोक्का राखेको जग्गा फुकुवा गरी देवीराम पौडेलका नाममा दाखिला गरिएको घटनाबारे आफूले सोमबार मात्रै थाहा पाएको जनाए । उनले अदालतको आदेशलाई समेत बैंक र मालपोतले उल्लंघन गरेर लिलामीमा अर्कैलाई सकार गर्न लगाएको भन्दै यो काममा बैंक र मालपोतको बदमासी भएको आरोप लगाएका छन । उनले आफूलाई पौडेलले नै तपाईंको जग्गा मैले बैंकको लिलामीबाट लिएको भनेपछि मात्रै थाहा पाएको उल्लेख गरे ।

मालपोत कार्यालय सुर्खेतले मंसिर ४ गते भूमि व्यवस्थापन तथा अभिलेख विभाग काठमाडौंलाई देवीराम पौडेलका नाममा कायम भएको जग्गाहरु बदर गरी साबिकबमोजिम नै कायम गरी आवश्यक कारबाही गर्न पत्राचार गरेको छ । मालपोत अधिकृत जनकबहादुर हमालले पठाएको पत्रमा एनआईसी एसिया बैंकमा २०७५ कात्तिक १४ गते रहेको उप्रेतीद्वयका जग्गाहरु २०७९ फागुन ५ गतेको जिल्ला अदालतले रोक्का राखेकामा लिलाम सकारकर्ता देवीराम पौडेलका नाममा कायम भएको जग्गाहरु बदर गरी साबिकबमोजिम नै काम गर्न भनिएको छ ।

यस्तै मालपोत अधिकृत हमालले अदालतबाट रोक्का राखेको जग्गाहरु के कति कारणले पौडेलको नाममा नामसारी भएको भनी कार्यालयका दुई कर्मचारीलाई तीन दिनभित्र स्पष्टीकरण सोधेका छन् । सोमबारै कार्यालय प्रमुख हमालले कार्यालयका नासु राजकुमार सिंह र खरिदार राजेन्द्रबहादुर खड्कालाई के कसरी नामसारी भएको हो सो बारे चित्तबुझ्दो जवाफ तीन दिनभित्र पेस गर्न स्पष्टीकरण मागेका छन् । यदि तोकिएको समयभित्र जवाफ नदिएमा कानुनअनुसार कारबाही गरिने जनाइएको छ ।

एनआईसी एसिया बैंक सुर्खेतले सबै प्रक्रिया पूरा गरेर मात्रै लिलाम गरेको भन्दै कुनै जालसाज नगरेको दाबी गरेको छ । बैंकका सुर्खेत प्रबन्धक अशोक तिमिल्सेनाले ऋणीले समयमै ऋण नतिरेपछि लिलाम प्रक्रियाअनुसार गरेको भन्दै कुनै जालसाज नगरेको जिकिर गरे ।

समयमै ऋण नतिर्दा बैंकले धितो लिलाम गर्नु स्वभाविक भएको भन्दै उनले सबै काम कानुनअनुसारै प्रक्रिया पूरा गरेर गरिएको उल्लेख गरे । आफू बैंकमा नयाँ आएको र यी सबै काम पहिले नै भएकाले थप कुराहरु बैंकको माथिल्लो निकायबाट बुझ्नसमेत उनले आग्रह गरेका छन् ।


Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।

Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।