जाजरकोट भूकम्पबाट ६७ हजार भन्दा बढी व्यक्ति विस्थापित

मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
जाजरकोट भूकम्पबाट ६७ हजार भन्दा बढी व्यक्ति विस्थापित

काठमाडौं । गत कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका- १ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले जिल्लाका ६७ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

पीडितहरू बढ्दो चिसोमा त्रिपालमुनि रात कटाइरहेका छन् । सरकारी तवरबाट भत्केका घरहरूको भग्नावशेष पन्छाउने काम  सुस्त भइरहँदा विभिन्न राजनीतिक दलले स्वयंसेवक परिचालन गरी भूकम्पमा भत्किएका घर तथा सरकारी कार्यालयबाट ढुङ्गा, माटो र काठहरू पन्छाइरहेका छन् । 

भेरी नगरपालिकाको माथिल्लो थाप्लेमा शुक्रबारदेखि एमालेले स्वयंसेवक परिचालन गरेको छ । पार्टीनिकट मजदुर संगठन- जी फन्टको अगुवाइमा जाजरकोटको भेरी र नलगाड नगरपालिका तथा बारेकोट र कुशे गाउँपालिका र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका र सानोभेरी गाउँपालिकामा १५ दिनसम्म स्वयंसेवक परिचालन गर्ने एमालेले जनाएको छ । 

त्यसैगरी कांग्रेसनिकट नेविसंघले भूकम्पमा भत्किएका जाजरकोटका दुईवटा आधारभूत विद्यालयको भूकम्प प्रतिरोधी भवन निर्माण गर्नुको साथै अस्थायी रूपमा पठनपाठन सञ्चालन गर्न मिल्ने गरी अन्य विद्यालयमा पनि काम गर्ने जनाएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र मोहन वैद्य किरण नेतृत्व नेकपा-क्रान्तिकारीले जिल्लाका विभिन्न ठाउँमा भूकम्प प्रभावितहरूलाई राहत वितरण, घाइते तथा बिरामीहरूको उपचार, अस्थायी टहरा निर्माणमा सहयोग गर्ने जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.