१६ वर्षदेखि रोकिएको सीमास्तम्भ मर्मत गर्दै सशस्त्र प्रहरी

चीनतर्फ टुंगो लाग्न बाँकी
भारतसँग जोडिएका २ हजारभन्दा बढी स्तम्भ मर्मत गर्नुपर्ने
मंसिर १, २०८० |रमेश धमला
१६ वर्षदेखि रोकिएको सीमास्तम्भ मर्मत गर्दै सशस्त्र प्रहरी

काठमाडौं । नेपालको दुई छिमेकी मुलुक भारत र चीनसँग सीमा जोडिएका क्षेत्रमा बेला-बेला विवाद आउने गर्छ । विशेषगरी भारतसँगको खुला सीमाका कारण सीमास्तम्भको सुरक्षा सधैं चासोको विषय बन्ने गरेको हो । यस वर्ष भने देशको सीमास्तम्भ मर्मत गर्ने जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिइएको छ । भारतसँग सीमा जोडिएका जिल्लाका दुई हजारभन्दा बढी सीमास्तम्भको मर्मत सशस्त्र प्रहरीले गरिरहेको छ ।

नेपालका २७ जिल्लाको सीमाना भारतसँग जोडिएको छ । ती सीमा क्षेत्रमा ८ हजार ५५३ स्तम्भ छन् । तर नेपालले २०६४ सालदेखि आफ्ना सीमास्तम्भको एकपटक पनि मर्मत गरेको छैन । भारतसँग सीमा जोडिएको क्षेत्रमा कुन सीमास्तम्भको अवस्था के छ ? भन्ने नहेरेकै कारण पटक-पटक विवाद आउने गरेको हो । नापी विभागले १६ वर्षसम्म बेवास्ता गरेका सीमास्तम्भ यस वर्ष भने सशस्त्र प्रहरी बलले मर्मत गर्न थालेको हो ।

सशस्त्रले भारतसँग सीमा जोडिएका १७ जिल्लाका सीमास्तम्भको अवस्था कमजोर देखिएको जनाएको छ । मधेश प्रदेशको सिरहा, धनुषा, महोत्तरी, बारा र पर्सा गरी ६ जिल्लामा गत कात्तिकबाटै मर्मत सम्भार सुरु भएको छ । मधेश प्रदेशमा पूर्णरुपमा क्षति भएका १४ वटासहित १ हजार ५३ सीमास्तम्भको मर्मत गर्नुपर्नेछ । जसमा १७१ वटाको काम सकिएको छ । बाँकीलाई सुरक्षित बनाउने काम भइरहेको सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

भारतसँग सीमा जोडिएका जिल्लामा मात्रै दुई हजार २१२ वटा सीमाको मर्मत गर्नुपर्नेछ । जसमध्ये मधेश प्रदेशका मात्र एक हजार ५३ वटा छन् । त्यस्तै लुम्बिनीमा ५०६, कोशी प्रदेशमा ४८४ र सुदूरपश्चिममा १६९ वटा स्तम्भको मर्मत गर्नुपर्ने देखिएको हो । तीमध्ये २७ वटाको पूर्ण रुपमा मर्मत गर्नुपर्ने भएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जोर नम्बरका पिलर मर्मत गरेकामा नेपालले बिजोरको गरिरहेको हो ।

यता चीनसँगको सीमामा राखिएका एक सयवटा पिलरको मर्मत सम्भारबारे अझै कुरा भएको छैन । सीमास्तम्भ मर्मतका लागि दुवै देशबीच सहमति हुनुपर्छ । चीनसँग सीमा जोडिएका सात स्थानमा सशस्त्र प्रहरी बलको बोडरआउट पोस्ट राखिएका छन् । सशस्त्रले सबै सिमानाको अध्ययन गरी दुई देशको सहमतिमा स्तम्भ मर्मत गर्ने जनाएको छ । सरकारले विगतमा नापी विभागलाई दिँदै आएको सीमास्तम्भ मर्मतको काम २०७७ सालमा मात्रै सशस्त्रलाई दिने निर्णय गरेको थियो ।

त्यसो त सीमा क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गए पनि सरकारले अहिलेसम्म सीमा सुरक्षा ऐन ल्याउन सकेको छैन । जसले सीमा क्षेत्रमा हुने अपराधमा कसले के कारबाही गर्ने भन्ने कानुनी स्पष्टता नरहेको सशस्त्र प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक राजेश श्रेष्ठ बताउँछन् ।

नेपाल-भारतबीच मात्रै एक हजार ८८० किलोमिटर सीमा जोडिएको छ । जुन खुला छ । यता चीनसँग १५ जिल्लामा एक हजार ४१५ किलोमिटर सीमा जोडिएको छ । ती सीमामा रहेका स्तम्भ संरक्षण र अपराध नियन्त्रण चुनौतीपूर्ण छ । त्यसका लागि सुरक्षा निकायलाई नै बलियो बनाउनुको विकल्प छैन ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।