बारा । बारामा धानमा लागेको रोगले बाली नष्ट गर्न थालेको छ । गबारो, ब्लास्टजस्ता रोगले हुर्कंदै गरेको धान नष्ट हुन थालेपछि उत्पादन घट्ने चिन्ताले किसानलाई पिरोलेको छ । किसानले धानमा कीटनाशक औषधि र रासायनिक मल छरिरहेका भएपनि प्राविधिक ज्ञानबिनै गरिएको उपचारले रोग नियन्त्रणमा आउन सकेको छैन ।
आकासे पानीको भरमा खेती हुँदै आएको बारामा यसपालि समयमै धान लगाइएको थियो । समयमै रोपेकाले यस वर्ष धानको उत्पादन बढ्ला भन्ने आशा किसानलाई थियो । तर रोपेको एक महिना नबित्दै धानमा रोग लागेपछि किसान निराश छन् ।
कलैयाका किसान वैद्यनाथ चौधरीले रोगका कारण पहेँलिएको धानको बाला देखाउँदै समस्या समाधानका लागि के गर्ने हो भन्नेमा द्विविधामा परेको सुनाए ।
यस्तै बधवनका इस्लाम मियाँले धानबालीमा लागेको रोगको पहिचान गरी आवश्यक औषधिका लागि स्थानीय पालिकाले सुझाव दिए किसानलाई सजिलो हुने जनाए । ‘धानमा रोग लागेको छ । नगरपालिकाले हेर्नु पर्यो, कुन औषधि प्रयोग गर्न ठिक हुन्छ ।’ उनले भने ।
धेरैजसो खेतमा गबारो र ब्लास्ट रोगले धान नष्ट पारिरहेको छ । कतैकतै जिंकको समस्याका कारण खैरा रोगसमेत देखिएको छ । किसानले प्राविधिक सल्लाहबिना नै आफूखुशी मलखाद र कीटनाशक औषधि प्रयोग गर्दा रोग नियन्त्रण हुन नसकेको कृषिविज्ञ बताउँछन् ।
कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादव किसानले आफूखुशी जथाभावी विषादी तथा औषधि प्रयोग गर्ने क्रम बढ्दा पनि समस्या झन थपिएको दाबी गर्छन् । उनले भने, ‘प्राविधिकहरुको सल्लाह बमोजिम उपयोग गर्दा मात्रै विषादीको सही सदुयोग हुन्छ । अन्यथा जथाभावी औषधि प्रयोग गर्दा किसानको अनावश्यक खर्च बढ्ने र त्यसले काम पनि गर्दैन ।’
वाषिर्क ६२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको बारामा यो वर्ष २ लाख ६५ हजार मेट्रिकटन धान उत्पादन हुने अनुमान छ ।