गृह जिल्ला पुगेर राष्ट्रपतिले भने- राजनीतिमा हात हाल्दिनँ तर विकासबाट हात झिक्दिनँ

आश्विन ६, २०८० |प्रताप राना
गृह जिल्ला पुगेर राष्ट्रपतिले भने- राजनीतिमा हात हाल्दिनँ तर विकासबाट हात झिक्दिनँ

तनहुँ । राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेल पहिलोपटक गृह जिल्ला तनहुँ आएका छन् । दमौली सभाहलको उद्घाटनका लागि राष्ट्रपति पौडेलले गृह जिल्ला आएका हुन् । आजै उक्त सभाहलको उनले उद्घाटन गरेका छन् ।

यस्तै दमौली सभागृह परिसर नजिक बीपी स्मृति पार्कमा निर्माण गरिएको बीपी कोइरालाको शालिकसमेत राष्ट्रपति पौडेलले अनवरण गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आफूले दलीय राजनीतिमा हात नहाल्ने तर विकासको कामबाट हात नझिक्ने जनाए । उनले भने, ‘म दलीय राजनीतिमा हात हाल्दिनँ तर विकासको कामबाट हात झिक्दिनँ । देश पछाडि परेको छ । मुलुकलाई विकास चाहिएको छ ।’

संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताउँदै राष्ट्रपति पौडेलले स्थायित्व र सुशासनबाट विकास सम्भव रहेको उल्लेख गरे । उनले भने, ‘परिवर्तनको रक्षा गर्ने मेरो जिम्मेवारी हो । संविधानको रक्षक भएका नाताले मेरो कदम त्यसतर्फ हुनेछ ।’ सबै धर्म र जातजातिको सम्मान गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले देशलाई बलियो बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गरे । व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भन्दै राष्ट्रपति पौडेलले पदमा पुग्नेहरुले देशको हितमा काम गर्नुपर्ने बताए । 

सहरी विकास मन्त्रालयको २३ करोड ६२ लाख रूपैयाँमा तनहुँको व्यास नगरपालिका–३ बीपी वनवाटिकामा उक्त सभागृह निर्माण गरिएको हो । सुविधा सम्पन्न सभाहलसँगै जिल्लामा आयोजना हुने कार्यक्रम सञ्चालन गर्न सहज भएको छ ।

विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना महामारीका कारण ढिलो गरी निर्माण सम्पन्न भएको हो । भवन निर्माणका लागि विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौस्थित डाँफे/एमए/प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो ।

सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मत सम्भारको अवधि राखिएको छ । सभागृहमा पाँच सय ९३ जना अट्ने क्षमता छ । सभागृहको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । भवनमा मुख्य सभाहल बाहेक एक सय ५० जना क्षमताको सेमिनार हल निर्माण भएको छ । सभाहल बाहिर फाउण्टेनसहितको भिआइपी पार्किङ स्थलसमेत रहेको छ ।


Image

प्रताप राना

राना कान्तिपुर टीभीका तनहुँ संवाददाता हुन् ।