बालबन्दीबीचको विवादले वीरगन्जस्थित बालसुधार गृह रातभर तनावग्रस्त

भाद्र २७, २०८० |माधुरी महतो
बालबन्दीबीचको विवादले वीरगन्जस्थित बालसुधार गृह रातभर तनावग्रस्त

वीरगन्ज । वीरगन्जको बिर्तास्थित बालसुधार गृह मंगलबार रातभर तनावग्रस्त बनेको छ ।

सुधार गृहमा रहेका बालबन्दीहरूले एक सातादेखि नाइके परिवर्तन गर्नुपर्ने र भक्तपुरबाट ल्याइएका १८ बाल कैदीलाई अन्तै लगिनु पर्ने लगायतका माग राख्दै तोडफोडमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको थियो । उनीहरुले सुधार गृहको सुरक्षार्थ खटिएका प्रहरीमाथिसमेत ढुङ्गामुढा गरेका थिए । 

सुधार गृहभित्रबाट हानेको ढुंगा लागेर प्रहरीका साथै केही पत्रकारसमेत घाइते भएका छन् । यस क्रममा घाइते भएका १० जना बाल बन्दीको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

सुधार गृहमा रहेका बन्दीबीचको विवादलाई साम्य पार्न प्रहरीले बाहिरबाट हवाई फायर र अश्रुग्याँस प्रयोग गर्नु परेको थियो । अहिले सुधार गृह बाहिर सयौँ प्रहरी तैनाथ गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

उक्त बालसुधार गृहमा हाल १ सय ३४ जना बाल कैदीहरु छन् । हालै भक्तपुर बालसुधार गृहमा उत्पात मचाएका बाल कैदी मध्ये १८ जनाभन्दा बढीलाई यहाँ ल्याइएको थियो । यहाँ रहेका बाल कैदीहरुले भक्तपुरबाट ल्याइएकाहरुलाई अन्तै लगिनु पर्ने माग गरेका छन् । आफूहरुको माग सम्बन्धित निकायले सम्बोधन नगरेको भन्दै आक्रोशित उनीहरु मंगलबार राति एक्कासी तोडफोडमा उत्रिएका थिए । 

भिडियो


Image

माधुरी महतो

महतो कान्तिपुर टेलिभिजनकी पर्सा संवाददाता हुन् ।