‘चापकल सुके, पानीका लागि ३ बजे उठ्नुपर्छ’

श्रावण ७, २०८० |माधुरी महतो
‘चापकल सुके, पानीका लागि ३ बजे उठ्नुपर्छ’

पर्सा । पर्साको वीरगन्ज आसपासका क्षेत्रमा एक सातायता चापाकल सुकेपछि पानीको अभाव भएको छ ।

वीरगञ्जसँगै पर्साको ग्रामीण भेगका ९० प्रतिशत चापाकल सुकेपछि खानेपानीको हाहाकार भएको हो । चापकल र बोरिङमा जडित विद्युतीय मोटरलेसमेत पानी नतान्दा जनजीवन निक्कै कष्टकर बनेको छ ।

लामो समयसम्मको खडेरी र चर्को गर्मीले जमिनमुनिको पानीको सतह घटेका कारण चापाकलमा पानी आउन छाडेको हो । चुरे तथा भावर क्षेत्रमा बढ्दो वन फडानी र नदी/खोलाको अत्यधिक दोहनका कारण पनि वीरगन्जसहित मधेसका सहरी क्षेत्रमा चापाकल सुक्ने समस्या देखिएको हो ।

वीरगञ्जको गहवा चोककी स्थानीय गिरजा देवीले दुई/तीन महिनादेखि पानि सुकेको बताइन् । ‘२/३ महिना भयो कलको पानी सुकेको, यो गाउँभरी कल छ तर सबैतिर पानी सुकेको छ’, उनले भनिन् ।

पानीकै कारण राति ३ बजे उठ्नु परेको अर्की स्थानीय निशा श्रेष्ठको गुनासो छ । निशाले भनिन्- ‘धरै समस्या परेको छ । पानीकै कारण राति ३ बजे उठ्नु पर्छ तर पनि पानी आउँदैन ।’

सार्वजनिक र निजी गरी वीरगञ्जमा २७ हजार ४ सय ९० वटा चापाकल छन् भने खानेपानी संस्थानको धारा जडान भएका घरधुरी संख्या १२ हजार ९ सय २५ छ । यस्तै महानगरमा २९६ वटा इनार छन् । तर ती इनार फोहोर र जीर्ण भएकाले प्राय प्रयोगविहीन छन् ।

गत जेठमा पानी अभाव भएपछि महानगरले ४ हजार घरधुरीमा खानेपानी संस्थानको धारा निशुल्क जडान गरिदिने घोषणा गरेको थियो । तर हालसम्म उक्त योजना कार्यान्वयमा अघि बढेको छैन । 


Image

माधुरी महतो

महतो कान्तिपुर टेलिभिजनकी पर्सा संवाददाता हुन् ।