काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी मंसिरभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सर्भे गरिसक्न सबै मन्त्रालय, आयोग, सचिवालय र निकायलाई परिपत्र गरेको छ ।
असार २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयले सबै सरकारी निकायलाई परिपत्र गरेको हो । निजामती सेवा ऐन, २०४९ तथा नियमावली २०५०, संगठन तथा व्यवस्थापन सर्वेक्षण निर्देशिका, २०६६ एवं संगठन संरचना र दरबन्दी पुनरावलोकनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ बमोजिम ओएनएम गर्न मन्त्रालयले परिपत्र गरेको हो ।
चालु आव ०८०/८१ को बजेट वक्तव्यमा सम्बन्धित मन्त्रालय र निकायले मंसिरभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने उल्लेख छ । त्यस्तै, सबै सरकारी सेवा, निकाय र सार्वजनिक संस्थानमा यस आवमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्नेसमेत बजेट वक्तव्यमा उल्लेख छ । सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दी पुनरावलोकन गरी छरितो बनाइने विषय पनि बजेटमा राखिएको छ ।