रोल्पा । तत्कालीन नेकपा माओवादीले चलाएको १० वर्षे सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पामा द्वन्द्वमा ज्यान गुमाएकाका परिवारलाई अहिले दैनिकी चलाउनसमेत मुस्किल छ । सशस्त्र द्वन्द्वमा सन्तान गुमाएका र अङ्गभङ्गा भएकाहरूलाई हातमुख जोड्न धौधौ छ ।
माओवादीले सुरु गरेको १० वर्षे सशस्त्र द्वन्द्वकामा छोरा गुमाएकी सुनछहरी गाउँपालिका ७, जेलबाङकी ८७ वर्षीया फर्की बुढामगर घरमा एक्लै छन् । २०५३ माघ १० गते उनका एकमात्र छोरा भुवन बुढामगरलाई प्रहरीले विद्रोहीको आरोप लगाउँदै गोली हानेर हत्या गर्यो ।
फर्कीका तीन छोरीमध्ये एकको मृत्यु भइसकेको छ भने २ छोरी विवाह गरेर आ–आफ्ना घर लागे । पतिको पनि मृत्यु भएपछि उनी एक्लै छन् । माओवादी नेता वर्षमान पुनको पहलमा केही वर्षअघि बनेको घरमा एक्लै रहने फर्की सुल्पा तान्दै दिन कटाउँछिन् । वृद्धभत्ताले गुजारा चलाउँछिन् । ‘हिँड्न सक्दैन । सुतिरहन्छु, दिनभरि बसिरहन्छु । कहिले बनाएर खान्छु,’ फर्की भन्छिन् ।
जेलबाङकै पृथ्वी बुढामगरलाई भीरमा बाख्रा चराउँदै गर्दा २०५९ असोज ९ गते सेनाले हानेको गोली लाग्यो । उनीसँगै भएकी ३ वर्षीया बालिकाको ज्यान गयो भने उनले एउटा आँखा गुमाउनुपर्यो । उनी पनि सामाजिक सुरक्षा भत्ताकै भरमा दैनिकी चलाउँछन् । सरकारले आफ्ना सन्तानलाई निःशुल्क पढाइदेओस् भन्ने उनको अपेक्षा छ ।
‘हामीलाई धेरै अपेक्षा त छैन । बरु हाम्रा बालबच्चालाई निःशुल्क पढाइदिए हुन्थ्यो,’ पृथ्वीको भनाइ छ ।
फर्की र पृथ्वी प्रतिनिधि पात्र हुन् । सशस्त्र द्वन्द्वमा सन्तान गुमाएका र अंगभंग भएकाहरूको अधिकांशको कथा–व्यथा समान छ । जिल्लामा द्वन्द्वमा परेर ज्यान गुमाएकाहरूको आश्रित परिवार चार हजार ६ सयभन्दा बढी छ । द्वन्द्वका कारण अपांग जीवन बाँचिरहेका १३३ जना छन् । कतिपय अभैmसम्म पनि सामाजिक सुरक्षा भत्ताको पहुँचमा पुग्न सकेका छैनन् ।
‘राज्यले दिएको सामाजिक सुरक्षा भत्ता, अपांगता भत्ता, उपचार, राहतसहितका पहुँचमा कतिपय द्वन्द्वपीडितहरू आउन सकेका छैनन्,’ अधिकारकर्मी गोकर्ण पुनमगरले भने, ‘यसमा स्थानीय सरकारले पहलकदमी लिएर, स्थानीय सरकारमार्फत हुनसक्ने सेवा–सुविधाहरू प्रदान गर्नुपर्यो ।’
माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा तत्कालीन जेलबाङ गाविसले सबैभन्दा धेरै मानवीय क्षति बेहोरेको थियो । द्वन्द्वका क्रममा त्यहाँ राज्यपक्षबाट ६३ जना र तत्कालीन विद्रोही माओवादी पक्षबाट १० गरी ७३ जनाले ज्यान गुमाएका थिए ।