काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान आज सकिएन । भोलि पुन: बयान लिइनेछ । सोमबार (आज) उनलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको थियो ।
काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई बयान गराउन सरकारी वकिल कार्यालयमा लगिएको थियो । यसअघि आइतबार खाणका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान लिइएको थियो । उनीहरुको बयान सकिएपछि खाणको बयान लिइएको हो ।
शरणार्थी प्रकरणमा पक्राउ परेका खाणसहित १२ जनालाई आइतबार थप चार दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको थियो ।
यसैबीच शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आइतबार राति पक्राउ परेका छन् । अनुसन्धानका लागि म्याद लिन उनलाई आजै अदालतमा पेस गर्ने प्रहरीको तयारी छ । रायमाझीसहित यस प्रकरणमा हालसम्म १३ जना पक्राउ परेका छन् ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानेभन्दै ठगी गर्ने गिरोहविरुद्ध प्रहरीमा उजुरी परेपछि गत चैत १२ गते प्रहरीले ३ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । पक्राउ परेकाहरुको बयानको आधारमा धमाधम उच्चपदस्थ व्यक्ति पक्राउ पर्न थालेका हुन् ।
आइतबार मात्रै प्रहरीले तत्काली गृहमन्त्री थापाका छोरा प्रतीक र कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।
अहिलेसम्म यो प्रकरणमा १ सय ६ जनाका तर्फबाट करिब २४ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म पक्राउ परेकाहरुको सूची :
१. पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी
२. पूर्वगृहमन्त्री बालकृष्ण खाण
३. पूर्वगृहसचिव टेकनारायण पाण्डे
४. तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई
५. तत्काली गृहमन्त्री खाणका प्रमुख स्वकीय सचिव नरेन्द्र केसी
६. सन्दीप रायमाझी (टोपबहादुर रायमाझीका छोरा)
७. केवश दुलाल (गिरोहका सदस्य)
८. सानु भण्डारी (गिरोहका सदस्य)
९. सन्देश शर्मा (गिरोहका सदस्य)
१०. सागर थुलुङ (गिरोहका सदस्य)
११. टंक गुरुङ (गिरोहका सदस्य)
१२. रामशरण केसी (गिरोहका सदस्य)
१३. गोविन्द चौधरी (गिरोहका सदस्य)
* (सच्याइएको : यसअघि बयान सकियो भन्ने वाक्यांश पर्न गएकामा क्षमायाचनासहित सच्याइएको छ ।) -सं