महोत्तरीको गौशालामा प्रहरी र प्रदर्शनकारीबीच झडप, ९ राउन्ड हवाई फायर

वैशाख ११, २०८० |विकास ठाकुर
महोत्तरीको गौशालामा प्रहरी र प्रदर्शनकारीबीच झडप, ९ राउन्ड हवाई फायर

बर्दिबास । महोत्तरीमा सोमबार मध्याह्न नौ राउण्ड हवाई फायर भएको छ । गौशाला नगरपालिका–४ स्थित मल्हनीया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले नौ राउण्ड हवाई फायर गरेको हो ।

सशस्त्र एसपी लेखनाथ खनालले स्थिति नियन्त्रणमा लिन १३ सेल अश्रु ग्यास प्रहार गरेको जनाए। साथै स्थिति शान्तिपूर्ण नभएपछि सशस्त्र प्रहरी बलले चार राउण्ड हवाई फायर गरेको उनले बताए । घटना उग्र बन्दै गएपछि प्रहरीले थप पाँच राउण्ड हवाई फायर गरेको गौशालास्थित इलाका प्रहरीका इन्सपेक्टर मनोज यादवले जानकारी दिए ।

प्रदर्शनकारीले बाँसको भाटा प्रहार गर्दा सशस्त्र र नेपाल प्रहरीका निरीक्षकद्वय शंकर थापा र मनोज यादव घाइते भएका छन् । सशस्त्र र नेपाल प्रहरीका गरी आठ सुरक्षाकर्मी घाइते भएको उनले जानकारी दिए ।

झडपमा प्रदर्शनकारीतर्फका पनि दुई/तीन जना सामान्य घाइते भएको जनाइएको छ । प्रत्यक्षदर्शीकाअनुसार प्रदर्शनकारीको उग्र भिडले हत्या आरोपी उमेश साहको घरमा तोडफोड गर्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।

मलहनिया पोखरी गाउँकी २५ वर्षीया आरतीदेवीको गत शुक्रबार राति विष सेवनका कारण मृत्यु भएको थियो । तर छिमेकी तथा गाउँलेले भने आरतीलाई श्रीमान् उमेश साह, नन्द आशा, सासू र जेठाजुले यातना दिई हत्या गरेको आरोप लगाउँदै आएका छन् ।

प्रहरीले आरतीको मृत्यु लगत्तै उमेशलाई नियन्त्रणमा लिएको छ । गाउँलेले भने आरतीको सासु, नन्द र जेठाजुलाई समेत पक्राउ गरी उक्त घटनाको छानबिन हुनु पर्ने माग गर्दै आएका छन् ।

सोही विषयलाई लिएर गाउँका अधिकाशं महिलाले माईस्थान गौशाला सडकमा टायर बालेर सोमबार अपराह्न विरोध प्रर्दशन गरे ।

‘‘महिला हिंसा बन्द गर, आरतीदेवी हत्याका अभियुक्तलाई पक्राउ गर, शान्ति सुरक्षा कायम गर’’ जस्ता नारा लगाउँदै करिब तीन सयजति गाउँलेले सुरु गरेको प्रदर्शन उमेश साहको घरमा पुगेपछि उग्र बनेको थियो ।

अहिले घटनास्थलमा थप सुरक्षा बल परिचालन गरिएपछि स्थिति केही साम्य भएको छ । प्रदर्शनका कारण माईस्थान गौशाला समसी सडक केहीबेर अवरुद्ध भएको थियो ।    


Image

विकास ठाकुर

ठाकुर कान्तिपुर टीभीका महोत्तरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement