काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र अझै पनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयासमा रहने गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकार पनि निजी क्षेत्रलाई पाएसम्म दबाउनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुन नसकेको उल्लेख गरे । दुवैतर्फबाट यस्ता अनुचित सोच नत्यागेसम्म अर्थतन्त्रले गति लिन नसक्ने उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले अहिले विचार, सिद्धान्त, राजनीति र मूल्य, मान्यताको कुरा बिस्तारै हराउँदै समाज उपभोक्तावादतिर गइरहेको बताए । राजनीतिमा पनि राजनीतिक एजेण्डातिर भन्दा आवेगतिर जाने खतरा पैदा भइरहेको उल्लेख गर्दै उनले आर्थिक विकासको रणनीतिबारे राजनीतिक दलहरूले साझा धारणा बनाउन नसक्दा देश विकासमा ढिलाइ भइरहेको बताए ।
सबैको सामूहिक प्रयासबाट नै अर्थतन्त्र लयमा आउन थालेको र सामाजिक सेवामा देखा परेका झन्झटहरूमा पनि समाधानको प्रयास गरिरहेको दाहालको भनाइ छ ।