कालिकोट । मौलिक कला संस्कृति नेपालको पहिचान हो । भूगोल र परिवेशअनुसार विभिन्न जिल्लामा आ-आफ्नै मौलिक रीतिरिवाज छन् । त्यसैमध्येको हुड्के र झुडा नाच कर्णाली प्रदेशमा प्रचलित छ ।
हुड्के र झुडा नाच कुनै बेला कर्णालाली क्षेत्रका गाउँघरमा पूजाआजा गर्दा देखाइन्थ्यो । तर हाल सभा, समारोह र मेला महोत्सवमा पनि यो नाच लोकप्रिय बन्दै गएको छ । हुड्के नाच देखाउनेलाई पुराना इतिहासकार पनि भन्ने गरिन्छ। ठूला बडाको हर्षबढाइँमासमेत देखाइने यो नाच कालिकोटको पहिचान बनेको छ ।
सेतो धोती, कम्मरमा पेटी र टाउकोमा सेतो रुमाल बाँधेर नाचिने यो नाचका आफ्नै विशेषता छन् । हुड्के नाचमा बाजा, गायनको लय र नर्तकको ताल मिलाइन्छ । तर बढ्दो आधुनिकतासँगै यो नाच पनि मासिने अवस्थामा पुगेको छ ।
कर्णालीमा प्रसिद्ध अर्को झुडा नाच अथवा खेल विशेष गरी गाउँमा कसैको छोरा जन्मिदा, विवाह वा अन्य खुसियालीमा नाच्ने गरिन्छ । मागंल, थान, उजेडामा झुडाको भाषामा महिलाहरु नाचगान गरेर रमाउने गर्छन् । कुनैबेला घरभित्रै चुलोचौकोमा सीमित हुने महिलाहरु अहिले झुडा नाचमा रमाइरहेका देखिन्छन् ।
सांस्कृतिक, सामाजिक र ऐतिहासिक दृष्टिलेसमेत महत्वपूर्ण मानिने यस्ता नाचगानमा नयाँ पिढी त्यति आकषिर्त देखिँदैन । ठाउँ विशेषका यस्ता मौलिक चालचलन नयाँ पुस्तालाई हस्तान्तरण गर्न सके लोप हुनबाट जोगिनसक्ने थिए की ?