सरकारी गाडीमा गाउँपालिका अध्यक्षको छोराको रजाइँ

चैत्र १३, २०७९ |पोषनाथ अधिकारी
सरकारी गाडीमा गाउँपालिका अध्यक्षको छोराको रजाइँ

धादिङ । स्थानीय तहमा जनप्रतिनिधिले स्रोत र साधन कसरी दुरुपयोग गर्छन् भन्ने एउटा उदाहरण बनेका छन् धादिङको थाँक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य । आचार्यले आफूले लिएको गाडी सुविधा आफ्नो छोरालाई प्रयोग गर्न दिएका छन् । त्यो पनि पार्टीको काम गर्न ।

सरकारी गाडी, चालकलाई सरकारी तलब भत्ता । तर काम, पार्टीको प्रचार र अभियानमा । न सार्वजनिक बिदा, न दिनरात, २४ सै घण्टा पार्टीको कार्यक्रममा । नेकपा एमालेबाट दोस्रो पटक गाउँपालिका अध्यक्ष बनेका आचार्यका छोरा रमेश आचार्य नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्यका लागि उमेदवारसमेत थिए । उनै रमेशले पालिकाको बा २ झ ३६४१ नम्बरको गाडी निजी प्रयोजनका लागि प्रयोग गर्दै आएको एक स्थानीयले बताए । गत मंसिरदेखि पालिकाको गाडी धेरै जसो रमेशले आफ्नै अनुकुलमा चढ्दै हिँडेका छन् भने अध्यक्ष आचार्य प्रदेश ३– ०२००१ ब ३८४४ नम्बरको मोटर साईकलमा हिँड्ने गरेका छन् ।

अहिले यो गाडी अध्यक्षका छोरा रमेशले नेकपा एमालेको ग्रासरुट अभियानको नेता तथा कार्यकर्ता ओसार्ने सवारीका रुपमा प्रयोग गरिरहेका छन् ।

गाउँपालिकाका अध्यक्ष आचार्य हाल अमेरिकामा भएका कारण उनीसँग कुराकानी हुन सकेन । उनी चढ्ने गाडी अहिले उत्तरी धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा उनका छोरा रमेशले नेकपा एमालेको मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियानको क्रमका प्रयोग गरिरहेका छन् । चैत्र ११ गते शनिबार पनि पालिकाकै गाडी लिएर उनी कार्यक्रमको दौडधुपमा उत्तरी धादिङको नेत्रावती गाउँपालिकामा रहेको उनकै सामाजिक सञ्जालमा पोस्ट भएको तस्बिरले पुष्टि गर्छ ।

सरकारी गाडी दुरुपयोग गरेको विषयमा जिज्ञासा राख्दा उनले आफूले गाडी प्रयोग नगरेको दाबी गरे । तर, सामाजिक सञ्जालमा आएको तस्बिरबारे जिज्ञासा राख्दा उनले एमालेका केन्द्रीय सदस्यसमेत रहेका नेता कैलाश ढुङ्गेललाई लिएर गाडी गएको र आफू पनि कार्यक्रममा सहभागी भएको तर व्यक्तिगत प्रयोजनका लागि गाडी प्रयोग नगरेको जिकिर गरे ।

गाडीका विषयमा गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापालाई जिज्ञासा राख्दा उनले यस विषयमा कुनै जानकारी नभएको जनाए । उनले पालिकाको गाडी कसले, कहिले र कहाँ लगेको भन्ने आफूलाई जानकारी नभएको स्पष्ट पारे । ‘पालिकाको कार्यालय आउँदा गाडी देखिनँ । चालकलाई फोन गरेर सोद्धा अरुले प्रयोग गरेको जानकारी पाएँ । चालकले उत्तरतिर छु भन्यो,’ उनले भने, ‘अनुगमनमा जाँदासमेत म चाहिँ आफ्नै गाडी प्रयोग गर्छु ।

यस विषयमा थाक्रे गाउँपालिकाका प्रवक्ता अमितकुमार घलेले कार्यपालिकाको बैठक बसेर सरकारी सम्पत्तिको दुरुपयोग गर्नेलाई कार्बाही गर्ने जानकारी दिए । सरकारी गाडीमा पार्टीको झण्डा हालेर उत्तरी धादिङ नेत्रावती गएको रहेछ, पछि थाहा भयो । 

‘अध्यक्ष अमेरिका जानुभएको एक साताजति भयो । गाडी उता लगेको हामीलाई थाहै थिएन । अध्यक्षकै छोराले सरकारी गाडी लिएर पार्टीको कार्यक्रममा गएको मैल वडा अध्यक्षहरु, पालिका उपाध्यक्षलाई जानकारी गराएँ । सामाजिक सञ्जालमा हालेको रहेछ,’ उनले भने, ‘अफिसको तलब खानेगरी प्राइभेट चालक राखेको छ । कतिखेर कहाँ लान्छ थाहै हुँदैन । किन, कसरी गयो । स्पष्टीकरण कसले दिने हो ? लकलाई कार्बाही गर्नुपर्ने हो कि कसलाई गर्ने हो ? अध्यक्ष यहाँ हुनुहुन्न । आपत्तिजनक छ, हामी छानबिन गर्दैछौँ । तत्काल बैठक बसेर कार्बाहीको माग राख्ने छौँ । सरकारी गाडीको यसरी दुरुपयोग गर्नेलाई कार्बाही हुन्छ ।’

सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ । कार्यालय प्रयोजनमा चलाउनै पर्दासमेत सम्बन्धित निकायबाट पास लिनु पर्छ । शनिबार पनि उनले गाडी चलाउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका तत्कालीन निमित्त प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले रमेशले अनुमति नलिएको कान्तिपुरलाई जानकारी दिए ।

थाँक्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बरालले पनि पालिकाको गाडीबारे आफूलाई जानकारी नभएको बताए । अध्यक्षले प्रयोग गर्ने गाडी कसलाई दिएर गए भन्नेबारे आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ ।

अध्यक्ष आचार्यका छोरा रमेशलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निकट मानिन्छ । उनले घर गाउँमा हुने कार्यक्रममा जाँदा पनि सरकारी गाडी चढ्ने गरेको स्थानीयको आरोप छ । सरकारी सम्पत्ति दुरुपयोग गर्ने स्थानीय सरकार प्रमुख र उनका छोरालाई सरकारले कार्बाही गर्नुपर्ने स्थानीयको माग छ ।  


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।