प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

चैत्र १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको छलफलमा केही महत्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा छलफल भएको हो ।

प्रधानमन्त्रीका सचिवालयका अनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल भएको छ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा संघीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ ।

स्रोतको अनुसार सभामुखको तजबिजी अधिकार कटौती गर्नेलगायतका संशोधनसहितको संसदमा दर्ता भएको प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौदाबारे सभामुख घिमिरेले चासो राखेका थिए । उक्त नियमावलीमा १५ वटा संशोधन प्रस्ताव गरिएको छ । जसमा विगतमा सभामुखले प्रयोग गर्दै आएका तजबिजी अधिकार कटौती गर्ने संशोधन प्रस्ताव गरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.