नवलपरासीको सर्दीमा भेटिएको बेवारिसे बम निस्क्रिय गर्न सेनाको टोली जाँदै

चैत्र १३, २०७९ |नवीन पौडेल
नवलपरासीको सर्दीमा भेटिएको बेवारिसे बम निस्क्रिय गर्न सेनाको टोली जाँदै

कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–५ को सर्दीमा बेवारिसे अवस्थामा फेला परेका ९ वटा बमलाई निस्क्रिय पार्ने तयारी भइरहेको छ ।

बम फेला परेको स्थानमा राति नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर सुरक्षा दिइरहेको र बम निस्क्रिय पार्न नेपाली सेनाको टोली आउँदै गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कान्तिपुर टेलिभिजनलाई जानकारी दिए ।

‘बम फेला परेको स्थान दुर्गम क्षेत्र भएको र राति बम निस्क्रिय पार्न प्राविधिक रुपमा सहज नभएकाले आज बिहान त्यसको तयारी भइरहेको छ,’ उनले भने, ‘राति नै उक्त स्थानमा दुवै प्रहरीको टोली पुगिसकेको छ । सेनाको बम डिस्पोजल टोली हिँडिसकेको भन्ने जानकारी आएको छ ।’

प्रहरीले बम नै भएको यकिन गरेपछि अहिले वन तथा पर्यावरण सुरक्षा गण कावासोतीबाट सेनाको बम डिस्पोजल टोली घटनास्थल प्रस्थान गरेको छ । सशस्त्र द्वन्द्वको समयमा बम गाडेर राखिएको हुन सक्ने अनुमान गरिएको  र थप अनुसन्धान अगाडि बढाइएको प्रहरी जनाएको छ । बम भेटिएको स्थल प्रहरी चौकी सर्दीदेखि १८ किलोमिटर उत्तरतर्फ विकट पहाडी क्षेत्रमा रहेको र पैदल जानुपर्ने भएकाले सुरक्षाकर्मी पुग्न समय लागेको छ । 

आइतबार दिउँसो जंगल नजिकैको बारीमा बालबालिकाले बम देखेका थिए । जंगलमा चौपाया चराउन गएका किसानहरुले बम देखिएको ठाउँ खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम भेटिएको स्थानीय रुकेश सरामुले जानकारी दिए । बारीमा बम भेटिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।

भारतीय सेनाका पूर्वसैनिकसमेत रहेका सरामुका अनुसार ती ८१ एमएममोटरको बम (गोला) हुन् । साथै पाँच हजार दुई सय मिटर रेन्ज काटी बम जमिनमा विस्फोट हुँदा एक सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुले दाबी गरे ।

ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।